सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको २०२५–२७ कार्यकालका लागि हुने निर्वाचनमा विराटनगरका विवेक पुरीले न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यतर्फबाट राज्य समन्वय परिषद् (एससीसी) सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।
नेतृत्व क्षमताका साथै सामाजिक उत्तरदायित्वप्रति समर्पित विवेक पुरी नेपाली समुदायमा परिचित नाम हुन्। उनी बिराटनगर समाज अष्ट्रेलियाका संस्थापक अध्यक्ष समेत हुन्, जहाँ उनले एकीकृत नेपाली समुदाय निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
उनले एनआरएनएको मूल उद्देश्यअनुरूप संस्था भित्र पारदर्शिता, जवाफदेहिता र समावेशी सहभागितालाई अझ मजबुत बनाउने लक्ष्य लिएको बताए।
“समुदायले धेरै दिएका अवसर र भरोसालाई अब योगदानमार्फत फर्काउने बेला हो,” पुरीले आफ्नो उम्मेदवारी घोषणा गर्दै भने, “नेतृत्व भनेको हैसियत होइन, सेवा र समर्पण हो।”
बिराटनगरका पुरीले एनएसडब्लु राज्यमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थी, पेशागत व्यक्तित्व, व्यवसायी, महिला तथा युवाको साझा आवाज बन्ने उद्देश्यसहित उम्मेदवारी अघि सारेका छन्।
उनका अनुसार, आफ्नो कार्यकालमा निम्न मुख्य प्राथमिकताहरूमा काम गर्ने योजना रहेको छ :
• समुदायबीच एकता र सहकार्य प्रवर्द्धन
• विद्यार्थी तथा नयाँ आप्रवासीलाई लक्षित सेवा केन्द्र स्थापना
• नेपाली भाषा, संस्कृति र खेलकुदको संरक्षण तथा प्रवर्द्धन
• युवा नेतृत्व विकास र महिला सहभागिताको सुनिश्चितता
• संस्थागत पारदर्शिता र डिजिटल नवीकरण
एनआरएनएको आगामी निर्वाचन २६ जुलाई २०२५ मा हुनेछ। त्यसलाई लक्षित गर्दै पुरीले समुदायभित्र कोठे बैठक, छलफल, भेटघाट र डिजिटल माध्यमबाट संवाद अभियान तीव्र बनाएका छन्।
यसपटकको निर्वाचनमा एनएसडब्लु राज्यमा नयाँ पुस्ताको उल्लेखनीय उपस्थिति देखिँदै गएको छ। नेतृत्व पुस्ता हस्तान्तरण, सहभागिता र सशक्तिकरणका दृष्टिकोणले यो निर्वाचन विशेष महत्व बोकेको देखिन्छ।