इन्दु साह
विराटनगर । कैलालीको धनगढीमा भारी वर्षापछि डुबानको चपेटामा परेको छ । आइतबार साँझदेखि परेको भारी वर्षाका कारण धनगढी बजार सोमबार जलमग्न भएको हो ।
वर्षासँगै बाढी र डुबानको जोखिममा परेको धनगढीको समाचारले विराटनगरमा छटपट्टी हुने गरेको छ । किनकी विराटनगर महानगरपालिकाका १९ वटा वडामध्ये १८ वटा वडा डुबानको संभावित क्षेत्रमा पर्दछन् । महानगरपालिकाको ९ नम्बर वडा बाहेक बाँकीमा डुवानको सम्भावना वर्षेनी दोहोरिने गरेको हो । यी वडाका करिब ९ हजार घरधुरी सधैं जोखिममा रहेको तथ्यांक छ ।
मनसुन भित्रिसकेपनि विराटनगर महानगरपालिकाकामा कम वर्षा भईरहेको छ । यसले राहत दिएको भएपनि लगातार वर्षा भए विराटनगर डुबानमा पर्छ भन्ने नागरिकलाई चिन्ता पहिल्यै हुन्छ । विराटनगर ३ राजबंशी टोलका सन्जय राजबंशीले अन्तको डुबान हेरेर डराउनु पर्ने स्थिति रहेको सुनाए । विराटनगरका १, २, ४, ५, ६, ७, ८, ११, १२, १४, १६, १८ र १९ नम्बर वडाहरु विशेष रुपमा संकटग्रस्त क्षेत्रका रूपमा चिनिन्छन् । यी वडाहरु हुँदै सिंघीया र केशलिया बग्ने गर्दछ । शहरको केन्द्रभाग कोशी राजमार्ग पश्चिम केशलियाको बाढी र पूर्वतर्फको सिंघीयामा बाढी आउँदा वस्तीमा पस्ने गरेको छ । यसैले यी वडाहरु संकटग्रस्तमा रहेका छन् ।
त्यस बाहेक ३, ९, १०, १३, १५ र १७ नम्बर वडा डुबानबाट प्रताडित हुने कम जोखिमका क्षेत्रमा पर्दछ । वर्षेनी ८ हजार ८ सय ९४ घरधुरी डुवानबाट प्रत्यक्ष प्रभावित हुने गरेको तथ्यांक महानगरसँग छ । डुवानको संकटलाई ध्यानमा राख्दै महानगरले पुष्पलाल चौकमा आपतकालीन व्यवस्थापन कार्यालय स्थापना गरेको छ । उद्धारका लागि आवश्यक सामग्रीहरु खरिद गरेको जनाएको छ ।
वर्षातको बेला डुवानपीडितहरुलाई तत्काल राहत पुर्याउन महानगरले सार्वजनिक भवनहरुलाई आश्रयस्थलको रूपमा तोकेको छ । यस्तै, राहत सामग्री पनि आवश्यक परेको समयमा मात्र तत्काल खरिद गर्ने योजना बनाइएको छ ।
डुवानको मुख्य कारण भनेकै विराटनगरमा उचित पानी निकास प्रणालीको अभाव हो । महानगरले पूर्वाधार निर्माण कार्य अगाडि बढाइरहेको भए पनि हालसम्म यो समस्या हट्न सकेको छैन । कोशी प्रदेशको राजधानी विराटनगर बर्सेनि मनसुनको समयमा डुबानको चपेटामा पर्छ । तर, प्रादेशिक सरकारको प्रशासनिक संयन्त्र यहिं भएपनि त्यसको समाधानका लागि बजेट भने बिनियोजन गर्दैन । शहरको भूगोल, कमजोर पूर्वाधार विकासले गर्दा वर्षा सुरु हुनेबित्तिकै नागरिक त्रासमा बस्न बाध्य हुने गरेका छन् ।
डुबान समाधानको लागि महानगरले केही क्षेत्रमा नाला विस्तार, ढल सफा, र पानी निकासको संरचना निर्माण गरेको विपद् व्यवस्थापन शाखा प्रमुख कमला निरौलाको भनाई छ । विराटनगरमा रहेका खोलाको बाढीले गर्दा आउने डुबानको समाधान महानगरसंग नभएको देखिन्छ । विराटनगरको भूगोल अनुसार यहाँ पानी जम्मा भएर थुनिने हुन्छ । वर्षातसँगै पानीको निकास हुँदैन । यद्यपी अधिक वर्षापछि हुने डुबान वर्षात रोकिएको दश घण्टासम्ममा क्लियर हुने गरेको छ । तर, नागरिकलाई असहज भने बनाउने गरेको छ ।