इन्दु साह,
विराटनगर । वर्षातको मौसमसँगै बाढी र डुवान समस्या न्यूनीकरण गर्न सुरु गरिएको नाला सफाइले अहिले समस्या देखापर्न थालेको छ । सफाइपछि नालाबाट निकालिएको फोहोरजन्य हिलो सडकमै थुपारिँदा दुर्गन्ध, फोहोर र संक्रमणको जोखिम झनै बढ्न थालेको छ । सडक छेउ र पेटिमा थुपारिएको हिलोले बालबालिकादेखि वृद्धवृद्धालाई समेत आवतजावतमा समस्या हुन थालको छ । विद्यालय जाँदै गरेका स्कुले बालबालिकादेखि वृद्ध नागरिकहरू त्यही हिलोमा चिप्लिएर लड्ने जोखिम बढेको छ । 
मोटरसाइकल र साइकल यात्री लगायत आमसर्वसाधरणलाई हिडडुल गर्न झन् अफठ्यारो हुन थालेको छ । स्थानियका अनुसार सफा गर्ने नाममा सडकमै रोगको स्रोत थुपारिएको छ । हरेक दिन नाक थुनेर हिँड्नुपरेको आमसर्वसाधरणको गुनासो छ । नालाबाट निस्किएको हिलोबाट फैलिने दुर्गन्धले स्वासप्रश्वासका रोग, एलर्जी, र संक्रमणको जोखिम पनि बढाएको छ ।

तर, महानगरपालिका सरसफाई शाखा प्रमुख पुनम दाहालका अनुसार स्रोतसाधन अभावले गर्दा नालाबाट निकालिएको हिलो तत्काल व्यवस्थापन गर्न कठिन भएको हो । हिलो ठोस नभएसम्म व्यवस्थापन स्थलसम्म लैजान सकिदैन उनले भने । उनका अनुसार दुई–तीन दिनसम्म हिलो सडकमै राख्नुपर्ने बाध्यता रहेको छ । तर प्रश्न उठ्छ—त्यो दुई–तीन दिन स्थानीय बासिन्दाले स्वास्थ्य जोखिम, असहज यात्रा र दुर्गन्धबीच कसरी सहने? शहर सफा राख्ने अभियान राम्रो पक्ष हो । तर यदि त्यसकै कारण जनस्वास्थ्यमा खतरा र नागरिकलाई दैनिक पीडा भोग्नुपर्छ भने त्यसले प्रश्न खडा गर्दछ । के महानगरले समाधान खोज्दै समस्या सिर्जना गरीरहेको छ ? त्यसरी सडकमै थुपारीएको हिलो पानी पर्दा पुनः नालामै जान्छ । महानगरपालिकाले विभिन्न वडामा नाला सफाईको कार्यलाई तिब्रता दिएको छ । नाला सफाईका कार्य भईरहेको स्थलमा यस्तो समस्या देखिएको हो ।
साथै महानगरपालिकाले फोहोर सडकमै फाल्ने जो कोहीलाई कार्वाही गर्दै आएको छ । महानगरको अभियान शहरलाई सफा र सुन्दर बनाउने उद्देश्य रहेको छ । तर महानगर आफैले गरिरहेको कार्यले समेत सडक दुर्गन्ध र फोहोर भईरहेको तस्वीरले स्पष्ट देखाउछ । यी समस्या समाधानका लागि महानगरपालिका तथा सरसफाई गर्ने संस्थाहरुले नालाबाट निस्कने फोहोरजन्य हिलो तत्काल व्यवस्थापन गर्न विकल्प खोज्नु आवश्यक देखिएको छ ।