विराटनगर । नेपाल सरकारले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको सर्भर प्रणाली मंगलबार बिहानैदेखि डाउन भएपछि मोरङको बुढीगंगा गाउँपालिका–२ मा अवस्थित विराट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचारका लागि आएका बिरामी सास्तीमा परेका छन्।
स्वास्थ्य बीमाको सर्भर बन्द हुँदा सेवाग्राहीहरूले फाराम भर्न, विवरण अद्यावधिक गर्न, उपचार र औषधि लिन लगायतका प्रक्रिया पूरा गर्न नसकेका हुन् ।
बिहान ७ बजेदेखि नै सर्भरमा समस्या देखिएपछि स्वास्थ्य बीमामा आश्रित बिरामीहरू सेवा लिन नपाएर दिनभरै अस्पताल परिसरमा अलमलिएका थिए।
अस्पताल स्रोतका अनुसार स्वास्थ्य बीमा योजनाअन्तर्गत दैनिक करिब ८०० बिरामी सेवा लिन आउने गर्दछन्। तीमध्ये धेरैजसोको उपचार प्रक्रिया सर्भरमा आधारित हुने भएकाले सर्भर डाउन हुँदा अन्य सेवा प्रक्रियामा समेत असर पुगेको हो।सर्भर बन्द भएर घण्टौं कुर्नु परेको बिरामी र तिनका आफन्त आक्रोशित बनेका छन्। यसरी लामो समय कुरेर पनि सेवा नपाउँदा कतिपय बिरामी घर फर्किन बाध्य भएका छन् । भने केहीले आफ्नै खर्चमा उपचार गराइरहेका छन्।
विराट मेडिकल कलेज प्रशासनले स्वास्थ्य बीमा बोर्डको नियन्त्रणमा रहने सर्भर डाउन भएको विषयमा बोर्डसँगको निरन्तर समन्वय भइरहेको जनाएको छ ।