विराटनगर । नेपाली युवा उध्यमी मञ्च विराटनगर च्याप्टरले एक लर्निङ सेसनको आयोजना गर्दै युवाहरुलाई उध्यमशीलता सम्बन्धी छलफल गरेको छ। विराटनगरको बाजेको सेकुवामा सम्पन्न कार्यक्रममा अल्फाबिटा ग्रुपका निर्देशक दुइराज शर्मासँग युवाहरुले उध्यमशीलताको विविध पक्षमा छलफल गरेका थिए।
कार्यक्रममा शर्माले आफ्ना व्यक्तिगत अनुभवहरू बाँड्दै व्यवसायिक यात्रामा देखिने अवसर र चुनौतीबारे उल्लेख गरेका थिए। उनले युवाहरुलाई सिर्जनशील सोच, जोखीम लिन तयार हुने मनोवृत्ति र दीर्घकालीन लक्ष्यमा केन्द्रित रहन सुझाव दिएका थिए। कार्यक्रमका बारेमा जानकारी दिँदै मञ्चका अध्यक्ष सञ्जिव सिग्देलले यस्ता लर्निङ सेसनले युवा पुस्तामा उध्यमशील सोच विकास गर्न मद्दत गर्ने विश्वास व्यक्त गरे।
उनका अनुसार, मञ्चले युवालाई प्रेरित गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू नियमित रुपमा आयोजना गर्दै आएको छ। कार्यक्रममा विभिन्न क्षेत्रका युवा व्यवसायीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।