विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ९ मा रहेको शिक्षादीप कलेजले विज्ञान संकायमा कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूलाई अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको छ । गुणस्तरीय शिक्षा र नियमित उत्कृष्ट नतिजाका कारण विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल बनेको यस कलेजले शुक्रबार बिहान एक कार्यक्रमबीच १ हजार ५३ जना विद्यार्थीलाई अभिमुखिकरण गराएको हो।

कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्काका अनुसार भर्ना भएका विद्यार्थीहरूलाई कलेजको नियम, पठनपाठनको तरिका र अध्ययन पद्धतिका बारेमा विस्तृत जानकारी गराइएको थियो । प्रवेश परीक्षामा छनोट भएका १ हजार ५३ जनालाई भर्ना दिइसकिएको कलेजले जनाएको छ । माग बढेसँगै यस वर्ष दुईवटा अतिरिक्त सेक्सन थप गरिएका छन्। कलेजले आगामी असार ५ गतेदेखि औपचारिक कक्षा सञ्चालन गर्ने तयारी गरेको छ।

कार्यक्रमको प्रमुख आकर्षण मोटिभेसनल स्पीकर डा.नवीन शर्मा रहेका थिए । उनले विद्यार्थीहरूलाई कसरी लक्ष्य निर्धारण गर्ने, नियमित अध्ययन कसरी गर्ने र उत्कृष्ट नतिजा ल्याउन सकिने बारेमा मार्गदर्शन गरेका थिए । कार्यक्रममा कक्षा १२ की सिरिन भट्टराईले कलेजका प्रिन्सीपल ज्ञानबहादुर खड्काको फोटो फेम आर्टस गरेर कार्यक्रममा हस्तान्त्रण गरिएको थियो । अभिमुखिकरण कार्यक्रम शिक्षादीप कलेजका अध्यक्ष तथा प्रदेशसभा सदस्य भिम पराजुलीको अध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा चिफ डाइरेक्टर रमेशकुमार मण्डल, सह प्राध्यापक शैलेन्द्र शिवाकोटी, विज्ञान संकायका कोअर्डिनेटर नवीनकुमार राय, व्यवस्थापन संकायका कोअर्डिनेटर शंकर भट्टराईलगायत कलेजका सञ्चालकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कलेज संचालक रामचन्द्र अधिकारीले संचालन गरेको कार्यक्रममा कलेजका संचालकहरु डा राजेन्द्र प्रसाद चौधरी, राजेन्द्र प्रसाद यादव, दयानन्द सिंह, अनिल कुमार दास, डा.ललित नारायण मण्डल, रामचन्द्र अधिकारी, शेष नारायण चौधरी, मणिराज भट्टराई, डा। गुणनाथ गौतम, रितुराज रेग्मी, वेदप्रकाश दाहाल, भुपेन्द्र दाहाल र थिर प्रसाद भट्टराई लगायतको सहभागिता रहेको थियो। यसैबीच, कलेजले व्यवस्थापन संकायमा पनि अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ ।

उक्त संकायमा यस वर्ष ३ सय विद्यार्थीले भर्ना प्रक्रिया पूरा गरिसकेको कलेजले जनाएको छ। विगतदेखि नै नतिजामूलक शिक्षामा केन्द्रित रहँदै आएको शिक्षादीप कलेजले शिक्षामा अनुशासन, दक्ष शिक्षक समूह र प्राविधिक पूर्वाधारमार्फत विद्यार्थीलगायत अभिभावकको विश्वास जित्दै आएको छ।