विराटनगर । विराटनगर १० मा रहेको अरनिको कलेजले विज्ञान संकायमा यसै बर्षको शैक्षिकसत्रमा भर्ना भएका नयाँ विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको छ । कलेजको प्राङगणमा आज विहान कक्षा ११ मा भर्ना भएका विज्ञान संकायका ११ सय बढी विद्यार्थीहरुलाई अभिमुखिकरण गराएको हो । कार्यक्रममा काठमाण्डौँबाट आएका मोटिभेसनल वक्ता डा. तारा गिरीले ‘विज्ञान कसरी पढ्ने’ भन्ने विषयमा विद्यार्थीहरुलाई मार्गदर्शन गरेका थिए ।
कार्यक्रममा डा.नविन शर्मा, लक्ष्मीप्रसाद अधिकारी लगायतको पनि उपस्थिति थियो । यस वर्ष कक्षा ११ को विज्ञान संकायमा भर्ना प्रक्रियाका लागि दुई हजारभन्दा बढी विद्यार्थीले प्रवेश परीक्षा दिएका थिए । तीमध्ये एक हजार एक सय बढी विद्यार्थी छनोट भई भर्ना भएको कलेजका प्रिन्सिपल राजेश कार्कीले जानकारी दिए । कार्यक्रमका संयोजक तथा विज्ञान संकायका कार्यक्रम संयोजक विकास खनालका अनुसार असार १९ गते आयोजित प्रवेश परीक्षामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरुलाई प्राथमिकतामा राखेर भर्ना गरिएको हो।

कक्षा सुरु हुनुअघि नै विद्यार्थीहरुलाई शैक्षिक वातावरण, पाठ्यक्रमको स्वरूप, समय व्यवस्थापन र प्रेरणा प्रदान गर्ने उद्देश्यले अभिमुखिकरण कार्यक्रम गरिएको जानकारी दिए । कार्यक्रममा एईईमा सर्वोत्तम नतिजा ल्याउने विद्यार्थी राजबहादुर तथा कमल कुँवरद्वारा स्थापित पुरस्कार अग्रता डंगोललाई प्रदान गरिएको थियो।

त्यस्तै, प्रवेश परीक्षामा उच्च स्थान हासिल गर्ने नितिशकुमार गुप्ता र छात्रवृत्तिमा प्रथम हुने मान्सी मण्डललाई ‘अरनिको प्रिन्सिपल छात्रवृत्ति’ प्रदान गरिएको छ। कक्षा ११ को त्रैमासिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने मञ्जिला आजो, सुलभ न्यौपाने र अजय लिम्बुलाई समेत पुरस्कार दिइएको थियो । हाल विज्ञान संकायमा २३ वटा कक्षा सञ्चालन हुने र साउन ५ गतेदेखि नयाँ शैक्षिक सत्रको नियमित पठनपाठन सुरु हुने कलेजले जनाएको छ ।