विराटनगर । नेवारी समुदायको आफ्नो मौलिक धर्म, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विराटनगर र कटहरीका स्थानिय युवा लक्षित लाखे नाच र धिमे बाजा सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । नेवाः देय् दबु विराटनगर २ समितिको आयोजनामा कटहरी गाउँपालिका–१ स्थित कृषि बजार परिसरमा भइरहेको तालिममा विराटनगर महानगरपालिकाका वडा नम्बर १, २ र ५ तथा कटहरी गाउँपालिकाका वडा नम्बर १, २ र ३ का ३५ जना नेवारी समुदायका युवाहरुको सहभागी भएका छन् ।

परम्परागत कला र संस्कृति लोप हुँदै गइरहेको अवस्थामा यसप्रकारका प्रशिक्षणले युवाहरुलाई आफ्नो मौलिक पहिचानप्रति गर्व महसुस गराउँदै संरक्षणतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको समितिका अध्यक्ष दिपक प्रधानले जानकारी दिनुभयो । लाखे नाच तथा धिमे बाजाको प्रशिक्षण विप्लव प्रधानको टोलीद्वारा दिईरहेको छ । पश्चिमी संस्कृति र पप संगीततर्फ युवाहरूको बढ्दो आकर्षणबीच मौलिक पहिचानप्रति उनीहरूको चेतना अभिवृद्धि गर्न तालिम प्रभावकारी हुने विश्वास आयोजक समितिका कोषाध्यक्ष रामकृष्ण ताम्राकारले बताए ।

नेवार समुदायमा नागपञ्चमीका दिनबाट सुरु हुने लाखे नाचको परम्परा रहेको छ । झीः पुचः मन्दिरमा देवी बगलामुखी भगवतीलाई ढोग भेंट गरी मन्त्र लिने परम्परासँगै लाखे नाच सुरु गरिन्छ। गाईजात्रा सम्पन्नपछिको दिन लाखे नाच टोलीले विभिन्न नेवार समुदायका घरघरमा पुगेर नृत्य प्रस्तुत गर्दै आएका छन् । त्यसपछि विराटनगरको ऐतिहासिक श्री राधाकृष्ण रथयात्रामा सहभागिता जनाएपछि मात्र यो नाचको समापन गरिन्छ ।