सोनु साह,विराटनगर । विराटनगरमा प्रत्येक वर्ष भाद्र कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ऐतिहासिक राधा–कृष्ण रथयात्रा २०८२ को लागि रथ निर्माण कार्य तीव्रतर रुपमा चलिरहेको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसाबले अत्यन्त महत्वपूर्ण मानिने यो रथयात्राको तयारी यसपटक विगत वर्षहरूभन्दा फरक तरिकाले गरिदैं आएको हो । राधाकृष्ण सवार हुने रथ नयाँ निर्माण भईरहेको छ । २०२५ सालमा बनेको पुरानो रथ भत्काएर अहिले नयाँ निर्माणको काम धमाधम चलिरहेको छ । यहि कारणले यो वर्ष राधाकृष्णको युगलजोडी सवार गराउने रथ आकर्षक र नयाँ स्वरुपमा देखिनेछ ।

यसपटक निर्माण भइरहेको रथको डिजाइनमा नयाँपन थपिएको छ । जसले भक्तजनहरूको ध्यान अझ बढी तान्नेछ। रंगरोहन गर्ने काम भईरहेको । राधाकृष्ण मन्दिर परिसरमा अहिले रथमा रंगरोगन गर्ने काम भईरहेको छ । सुनिर्धारित तालिका अनुसार, साउनको अन्तिम सातासम्म रथको सम्पूर्ण सजावट सम्पन्न हुनेछ । त्यसपछि कृष्णजन्माष्टमीको दिन मन्दिरमा राधाकृष्णको विशेष पूजा हुनेछ । त्यसको भोलिपल्ट राधाकृष्णलाई रथमा राखेर नगर परिक्रमा गराइने आयोजक समितिले जानकारी दिएको छ।


विराटनगरको यो रथयात्रा बि.सं.१९८८ सालदेखि खटयात्राको रुपमा सुरु भएको थियो । बि.सं. २०२५ सालदेखि यसको स्वरुप परिवर्तन गरेर रथमा परिणत गरिएको थियो । त्यसयता विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रा निरन्तर रहँदै आएको छ । राधा–कृष्ण रथयात्रा विराटनगरको धार्मिक पहिचान मात्रै होइन, यहाँको सांस्कृतिक सम्पदा र सामाजिक एकताको प्रतीक पनि हो। विभिन्न जात, धर्म र समुदायका मानिसहरू रथ तान्ने, पूजा गर्ने, परिक्रमा गर्ने कार्यक्रममा उत्साहपूर्वक सहभागी हुने भएकाले यसलाई सद्भाव र भाइचाराको पर्व पनि मानिन्छ।