विराटनगर । विराटनगर अध्यागमन कार्यालयबाट एकवर्षमा ७४७ जनाले प्रवेशाज्ञाको लागि अनुमति लिएका छन् । गत आर्थिक वर्ष २०८१\२०८२ मा चार प्रकारको भिसामा प्रवेशाज्ञा लिइएको हो ।
विराटनगर अध्यागमन कार्यालयका अधिकृत तथा कार्यालय प्रमुख भक्तबहादुर राजबंशीका अनुसार नाता, पर्यटक, एनआरएन र विवाहसँग सम्बन्धित भिसाको प्रवेशाज्ञा लिइएको हो । जसमा नाता भिसामा २५६ जना, पर्यटक भिसामा ४४१ जना, एनआरएन ३४, विवाह भिसा १६ जनाको अवधी बढाइएको छ ।
गतवर्ष विराटनगर अध्यागमन कार्यालयबाट नेपाल ८ महिला र ३५ जना पुरुष गरी ४३ जना आगमन भएका छन् । यसैगरी विदेशी ७९ महिला र ८९ पुरुष गरी १६८ जना आगमन प्रवेशाज्ञा लिएका छन् । यसैगरी यसनाका हुँदै ३२ महिला र ५२ पुरुष गरी ८४ जना भारतीय नागरिक प्रस्थान गरेको तथ्यांकमा उल्लेख छ ।
अधिकृत राजबंशीका अनुसार गत आर्थिक वर्ष यो कार्यालयले ६७ लाख ८२ हजार ५२५ रुपिँया राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०\२०८१ म ३६ लाख ८६ हजार ३६ रुपिँया राजस्व संकलन गरेको थियो ।
अघिल्लो आर्थिक वर्ष १० महिला र १० पुरुष नेपाली तथा १६८ विदेशी महिला र १३२ विदेशी पुरुषले आगमन प्रवेशाज्ञा लिइएका थिए । यसैगरी अध्यागमन कार्यालय हुँदै १ महिला र १४ जना भारतीय नागरिकले प्रस्थान प्रवेशाज्ञा लिएको कार्यालय प्रमुख राजबंशीले जानकारी दिएका छन् ।
कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार २०८० पुस १३ गतेदेखि २०८१ असार ३१ गतेसम्म नाता भिसाको अवधी बढाउने ९८ जना, पर्यटक भिसाको अवधी बढाउने २१२ जना, एनआरएन ६ जना र विवाह भिसाको प्रवेशाज्ञा लिने ३ गरी जम्मा ३१९ जना रहेका छन् ।
अधिकृत राजबंशीका अनुसार भारतको बाटो हुँदै प्रवेश गर्ने विदेशी पर्यटक तथा देशका अन्य नाकाबाट प्रवेश गरेर म्याद थप गर्नेहरुका लागि यो कार्यालयले म्याद थप तथा प्रवेशाज्ञा अनुमति प्रदान गर्दै आएको छ । वर्षेनी सेवा लिनेको संख्या बढ्दै गएपछि अहिले विराटनगरको अध्यागमन कार्यालय एकिकृत जाँच चौकी (आइसिपी) परिसरमा स्थान्तरण गरेर सञ्चालनमा ल्याइएको छ ।
विराटनगरमा २०७५ सालदेखि अध्यागमन कार्यालय छ । भन्सार परिसर भन्दा बाहिर रहेको अध्यागमन कार्यालयलाई भन्सारमै स्थान्तरण गर्नुपर्ने स्थिति देखिएको अधिकृत राजबंशीले जानकारी दिएका छन् । कार्यालयले साउन १ गतेदेखि आइसिपी परिसरमा सारिएको हो । नेपाल प्रवेश गरेका पर्यटकको एक भिसा वर्ष १५० दिन अवधी तोकिएको हुन्छ । यदि कुनै कारणले म्याद थप गर्नुपर्ने स्थिति आएमा यो कार्यालयले पनि सेवा दिन थालेको छ । विदेशी पर्यटक बाहेक छोटो अवधीमा आउने पर्यटकको समेत प्रवेशाज्ञा म्याद थप गर्ने गर्दछ ।