इन्दु साह
विराटनगर । विराटनगरमा अर्को सध्याकालिन आरतीस्थलको निर्माण सम्पन्न भएको छ । यस अगाडी सामाजिक रुपमा विराटनगर–१९ मा महाशिव गंगा आरती र विराटनगर–१ मा परमार्थ सिंघीया आरती एकवर्षदेखि सञ्चालन हुँदै आएका छन् । स्थानीय सरकार विराटनगर महानगरपालिकाले धार्मिक पर्यटक भित्र्याउने उद्देश्य राख्दै विराटनगर–२ हनुमान मन्दिरमा सन्ध्याकालिन आरतीस्थलको लागि आकर्षक संरचना निर्माण सम्पन्न गरेको हो ।
हनुमान मन्दिर परिसरमा महानगरपालिकाले ३ करोड ९८ लाख ११ हजार १२८ रुपैँयाको लागतमा आरतीस्थलसहितका संरचना निर्माण गरेको हो । यो संरचनामा आगामी दशैं अगाडीदेखि सन्ध्याकालिन आरती सुरु गरिने दावी छ । विराटनगर महानगरपालिकाले पर्यटकीय स्थलको रुपमा विकास गर्दै आएको आरतीस्थलको सम्पूर्ण भौतिक संरचना निर्माणको काम सम्पन्न भएको हो । महानगरपालिका योजना महाशाखाका इन्जिनियर तथा यो योजनाका साईट ईन्जिनियर सुजन श्रेष्ठका अनुसार संरचना निमाण कार्य सम्पन्न गरी निर्माण व्यवसायीले हस्तान्तरणको लागि असार १० गते नै पत्राचार गरेको थियो । तर, महानगरपालिकाले निर्माण संरचनाको जाँचपास तथा अन्तिम भुक्तानी गर्नुपर्ने भएकोले स्वामित्व लिएको छैन ।
यस मन्दिर परिसरमा विवाह मण्डव, आरती प्यावलेन, गेट, लाइटिङ, पोखरी, आरती कुण्ड लगायतका संरचना तयार भइसकेको छ । अभियान\डिविशा जेभीले ३ करोड ९८ लाख ११ हजार १२८ मा निर्माण सम्झौता गरेको थियो । बहुवर्षे योजना अन्तर्गत २०७९ देखि ठेक्का पाएको कम्पनिले २०८१ माघसम्ममा यो योजना सम्पन्न गर्नु पर्ने थियो । तर, निमार्ण कम्पनीले पाँच महिनाको म्याद माग गरेर काम सम्पन्न गरेको छ । निर्माण कम्पनिले ८५ प्रतिशत वित्तीय भुक्तानी प्राप्त गरेको छ ।
मन्दिर परिसरका कतिपय संरचना निर्माणमा भने पुजारी र वरपरका स्थानियले हस्तक्षेप गरेर पुरानै रहन माग गरेका छन् । उनीहरुको माग अनुसार महानगरपालिकाले उक्त क्षेत्रलाई साविक बमोजिम नै छोड्नु परेको छ ।