जनकपुरधाम । नेपाली सेनाको सहकार्य र व्यवस्थापनमा सेवारत किशोर किशोरी र युवाहरुको अनुशासित संगठन राष्ट्रिय सेवा दल (एनसिसि) धनुषाको सल्लाहकार समितिको गठन भएको छ । नेपाली सेनाको धनुषा जिल्ला हेडक्वाटर महेन्द्रनगर स्थित श्री बिष्णु दल गणका गणपति प्रमुख सेनानी प्रभु राम महतको संयोजकत्वमा गठित सल्लाहकार समितिको सदस्यहरुमा शिक्षा प्रेमी समाजसेवी तथा मोनाष्टिक स्कुलका सञ्चालक डा. सोनु साह, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, होटल तथा पर्यटन व्यवसायी संघ धनुषाका वरिष्ठ उपाध्यक्ष सन्तोष गुप्ता र अभिभावकको तर्फबाट व्यवसायी एवं समाजसेवी जग्गीलाल महतो सदस्य छन् ।
एनसिसि अन्तर्गत हाल धनुषाको विभिन्न पालिकाका चार सामुदायिक र एक निजी गरि पाँच विद्यालयका १ सय २० जना छात्रछात्राहरू तालिम प्राप्त गरिरहेका छन् । यस वर्ष देखि धनुषाको सदरमुकाम जनकपुरका आलावा ग्रामिण क्षेत्रका पालिका हरु विदेह नगरपालिका, बटेश्वर गाउँपालिकाका विद्यालयहरुमा पनि प्रशिक्षण दिइने काम भइरहेको जसले नेपालको ग्रामिण युवा वर्गलाई पनि राष्ट्रिय भावका साथ अनुशासित नेतृत्व क्षमता विकासको वातावरण बन्ने गणपति महतले बताए ।
एनसिसि कार्यक्रम नेपाली सेनाको व्यवस्थापनमा सरकारद्वारा देशै भरि सञ्चालन हुन्छ । राष्ट्रका प्रधान सेनापति, रक्षा मन्त्री र प्रधानमन्त्रीको संरक्षकत्वमा सञ्चालन हुने यो कार्यक्रमको सिनियर डिभिजनमा कक्षा ११ र १२ का तथा जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागि हुन्छन् । यस आर्थिक वर्षको सिनियर डिभिजनको प्रशिक्षण जनकपुरधाम वडा नं. २० रुपैठा स्थित श्री जनता माविमा असोज देखि प्रारम्भ हुने बताइएको छ । सहभागीलाई आवास, पौष्टिक भोजन, पोशाक, स्वास्थ्य सुविधा प्रदान गरिन्छ उनीहरुले एकसय दिनको तालिममा ७९ दिन संस्था आधारित प्रशिक्षण (विद्यालयमै) र २१ दिन आवासीय सामूहिक क्याम्प (नेपाली सेनाको ब्यारेकमा) प्रशिक्षणमा सहभागि हुन्छन् ।
ड्रिल, तेक्वान्दो, एरोबिक्स, सैनिक कला, नक्शा÷जीपीएस अध्ययन, बोर्डिङ, नेतृत्व विकास, विपद् जोखिम न्यूनीकरण, गन र एसएलआर अभ्यास (सिनियरमा मात्र) आदिमा प्रशिक्षण फोकस हुन्छ । युवा वर्गमा अनुशासन, मूल्य मान्यता, नेतृत्व भावना, देशभक्ति, सामाजिक उत्तरदायित्व, दायित्व बोध जागृत गर्ने मुख्य उद्देश्यका साथ २०२२ देखि सुरु भएको कार्यक्रममा हाल सम्म करिव ८० हजार भन्दा बढीले तालिम लिइसकेका छन् । तालिमपछि क्याडेटहरूले विपद् व्यवस्थापन, खोज/उद्धार, सामाजिक सफाइ अभियान, वृक्षारोपण, ट्राफिक जनचेतना, सचेतना कार्यक्रमहरूमा भूमिका खेलिरहेका छन् ।