विराटनगर । विराटनगरमा रहेको एभरेष्ट सेकेण्डरी स्कुल तथा कलेजका विद्यार्थीहरुको नेतृत्व र व्यक्तित्व विकासका लागि ‘प्रथम एभरेष्ट नमुना संयुक्त राष्ट्रसंघको अभ्यास’ सभा गरिने भएको छ । एभरेष्ट स्कुलले आईतबार पत्रकार सम्मेलनको आयोजना गरि यही साउन २१, २२ र २३ गते विद्यालयमा ‘प्रथम एभरेष्ट नमुना संयुक्त राष्ट्रसंघको अभ्यास’ गरिने बारे जानकारी गराएको हो । कार्यक्रमको उद्घाटन साउन २१ गते बिहान कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय पाँचकर्ण राईले गर्ने कार्यक्रम संयोजक इशल भट्टराईले जानकारी दिए ।

तीन दिनसम्म चल्ने यस नमुना सभामा कक्षा ८ देखि १२ सम्मका २ सय विद्यार्थीले विभिन्न देशका प्रतिनिधिको रूपमा भाग लिनेछन् । उनीहरूलाई विभिन्न ६ वटा सांकेतिक समितिमा विभाजन गरिनेछ, जसमा संयुक्त राष्ट्रसंघको साधारण सभा, मानवअधिकार परिषद्, विश्व स्वास्थ्य संगठन, वातावरण कार्यक्रम, सार्क र अन्तर्राष्ट्रिय प्रेस छन् । ती समितिहरूमा निशस्त्रीकरण, मानवअधिकार, कोभिड– १९ पछिको मानसिक स्वास्थ्य, दिगो कृषि, विपद् तयारी र पत्रकारिताको अभ्यास जस्ता विश्वव्यापी तथा क्षेत्रीय महत्वका विषयमा छलफल हुने स्कुलले जनाएकोा छ । कार्यक्रमलाई व्यावस्थित पार्न कक्षा १२ इशल भट्टराईको संयोजकत्वमा सेजल कोईराला , प्रिन्सी बर्मा , सौमिका ढकाल, अनिन्द्र सेढाई , मनस्वी कोईराला शिवम् पधैया र सृष्टि रिजालको टोली रहेका छन् ।
साथै नेपाल र भारतका मोडरेटरहरूले सहजीकरण गर्ने उक्त छलफलमा हरेक समितिमा ३३ जना विद्यार्थी प्रतिनिधि रहने एभरेष्ट कलेजका प्रिन्सीपल टिकाराम पुरीले जानकारी दिनुभयो ।