विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट ९० किलोमिटर दुरी भारतको पूर्णियामा विमानस्थल सञ्चालन निर्माण भएसँगै त्यसको लाभ विराटनगरसहित कोशीका पर्यटन व्यवसायीले लिनसक्ने बताइएको छ । सीमा नाका रानी हुँदै भारतीय पर्यटक भित्रने संभावनालाई यो विमानस्थलले सहजीकरण गर्ने अनुमान गरिएको छ ।
पूर्णिया विमानस्थल सञ्चालनमा आउँदा यहाँका ट्राभल्स एण्ड टुरसँग सम्बन्धित व्यवसायी, होटल व्यवसायीले पहिलो लाभ लिन पाउने अपेक्षा राखिएको छ । त्यसपछि विराटनगर नाका हुँदै प्रवेश गरेका भारतीय पर्यटकलाई माउन्टेन प्याकेज दिएर उडान भराउन पाउने अवसर समेत सिर्जना हुने विश्वास लिइएको छ ।
विराटनगरका होटल व्यवसायी तथा नेपाल पर्यटन व्यवसायी एशोसिएशनका उपाध्यक्ष राजन श्रेष्ठले विमानस्थल सञ्चालनमा आउँदा त्यसको लाभ प्रशस्त लिनसकिने दावी गरेका छन् । उनले ट्राभल्स एण्ड टुर एशोसिएन अन्तर्गतको सेवा दिदैं आएका विराटनगरका व्यवसायी, होटलको सेवा दिदै आएका व्यवसायीले लाभ लिने बताए । त्यस बाहेक नेपालबाट भारतमा अध्ययनका लागि जाने विद्यार्थी, उपचारका लागि जाने नागरिक र उद्योग–व्यापार प्रयोजनका लागि आउजाउ गरिरहनु पर्नेहरुका लागि समेत सहज हुने बताए ।
पर्यटन व्यवसायी श्रेष्ठले विराटनगर विमानस्थलबाट पर्यतीय उडानका प्याकेज सञ्चालन गर्ने बाटो निजी क्षेत्रलाई खुल्ने बताएका छन् । सरकारी तवरबाट यसको सहजीकरण भए त्यसले अझै सहज हुने र सेड्युल उडान गराउन सकिने संभावना रहने उनको बुझाई छ । तर, सरकारी तवरबाट यो सहजीकरण नभएपनि भारतीय पर्यटन व्यवसायीसँगको सहकार्यमा निजी क्षेत्रले यसको पहल लिनसक्ने संभावना रहेको उनको बुझाई छ ।
भारतीय सञ्चारमाध्यमले विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको उल्लेख गर्दै आगामी साउन ३० गतेसम्ममा उद्घाटन हुने दावी गरेका छन् । साउनमा यसको उद्घाटन भएमा आगामी असोज–कार्तिकको सिजनमा भारतका पर्यटक भित्र्याउन सकिने व्यवसायीहरुको बुझाई छ ।
श्रेष्ठले झापा काँकडभिट्टाबाट २२ किलोमिटर पूर्वमा रहेको पश्चिम बंगालस्थित बागडोगरा विमानस्थलको लाभ काकडभिट्टा र पूर्वका जिल्लाले लिईरहेकोले विराटनगरसँग नजिक रहेको पूर्णिया विमानस्थलको लाभ विराटनगरलाई नै हुने बताए । विराटनगरबाट १६५ किलोमिटर दक्षिणमा रहेको विहारको दरभंगाको विमानस्थलको केहि लाभ विराटनगरले पनि लिईरहेको छ ।
विराटनगरबाट बागडोगरा र दरभंगा पुग्न ४ घण्टा लाग्छ, पूर्णिया डेढ घण्टामा पुगिन्छ । पूर्णियाबाट भारतका ४ नयाँ दिल्ली, मुम्बई, बैंगलुरु र हैदरावादमा उडान हुने बताइएको छ । माउन्टेन प्याकेज दिएर भारतबाट भित्रने पर्यटकलाई उडान सेवा प्रदान गर्नका लागि निजी क्षेत्रले भएपनि काम सुरुवात गर्नसक्नेछन् ।
पर्यटन व्यवसायी मात्रै नभई यहाँका उद्योगीहरुले समेत यसले लाभ हुने बताएका छन् । उद्योग–व्यापारका लागि सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगी आउजाउ गर्न सहज हुने बताइएको छ ।
यस अगाडी विराटनगर विमानस्थलबाट व्यवसायिक उडान गरिएको थियो । पर्यटन तथा ट्राभल्स एशोसिएनको पहलमा भएको पर्वतीय उडान दिगो हुन सकेको थिएन । पर्यटन व्यवसायीले पूर्णिया विमानस्थलबाट पर्यटक भित्र्याउने प्याकेज भारतका सहरमा लिएर जाने बाटो समेत खोलेकोले नयाँ पहल लिनसक्ने संभावना बढेको बताएका हुन् ।