विराटनगर । भाद्र कृष्णाजन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने राधाकृष्णा रथयात्रा यस पटक आगामी भदौ १ गते पर्दछ । श्रीराधाकृष्णको युगल जोडीलाई रथारोहण गराउने रथयात्रा भने नयाँ बनिरहेको छ । निर्माणाधीन नयाँ रथको काम ९० प्रतिशत सकिएको जानकारी दिइएको छ । साउन २५ गतेसम्म रथ निर्माणको काम सम्पन्न हुने बताइएको छ ।
गत बैशाखष्ता नयाँ रथ निर्माण सुरु गरिएको हो । बुट्टा कुँदिएका काठका पिलर तथा रेलिङहरुको जडान तथा रथको रंगरोगन भईरहेको रथयात्रा समारोह समितिका सचिव कृष्ण कार्कीले जानकारी दिएका छन् । उनका अनुसार रथ निर्माणको काम समयमै सकेर बाँकी तयारी गर्नेतर्फ हुने बताइएको छ । रथ निर्माणमा झण्डै ३ हजार किलो फलामबाट डायस निर्माण गरिएको छ । जसमा काठका खम्बाहरु लगाइएको छ । रथ निर्माणका लागि मात्रै २ सय ५० क्युवि फिट सखुवा तथा सिसौको काठ प्रयोग भएको दावी गरिएको छ ।
विराटनगर महानगरपालिकाको ४४ लाख ७७ हजार लगानीबाट रथको निर्माण कार्य हुँदैछ । नयाँ रथको काठ सम्बन्धी कामहरु शिवजी शर्मा, फलामको काम विजय राजवंशी र बिजुलीको काम दिनानाथ मण्डलले गरिरहेका छन् भने भारत बंगालका रंजय शर्मा र ग्रामथान झोराहाटका सुशील सरदारले रथमा बुट्टा कुँदने काम गर्दैछन् ।
१९८८ सालदेखि खटयात्राको रुपमा सुरु भएको यो धार्मिक महत्वको उत्सव २०२५ सालदेखि रथयात्रामा रुपान्तरण भएको थियो । त्यसबेला बनेको रथ जीर्ण र साँघुरो भएका कारण त्यसलाई भत्काएर नयाँ रथ बनाइएको हो । रथको चौडाई १४ फिट, लम्बाई १९ फिट र उचाई २१ फिट छ ।