कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी ह्याकाथन प्रतियोगिता आयोजना हुने भएको छ । टेक गोर्खा डिजिटल सर्भिसेस र साइबर घरको संयुक्त आयोजनामा साइबर उत्सव २.० देशका चार प्रमुख शहरमा हुँदैछ ।
कार्यक्रमका प्रमुख संयोजक दीक्षान्त पाण्डेका अनुसार ह्याकाथन भदौ ११ देखि १३ गतेसम्म इटहरीमा, भदौ १६ देखि १८ गतेसम्म पोखरामा, भदौ २१ देखि २३ गतेसम्म चितवनमा र भदौ २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने छ । प्रतियोगिताको ग्रान्ड फिनाले भने भदौ २९ गते काठमाडौंमा हुनेछ ।
चारै शहरमा प्रतिस्पर्धा जितेका टोलीहरूले काठमाडौंमा हुने फाइनलमा प्रतिस्पर्धा गर्नेछन् । इटहरी, पोखरा र चितवनबाट फाइनलमा पुग्ने टोलीहरूको खर्च आयोजकले व्यहोर्ने बताइएको छ ।
एक लाख रुपैयाँ पुरस्कार राशिको यस प्रतियोगितामा फाइनलका उत्कृष्ट तीन टोलीलाई पुरस्कार प्रदान गरिनेछ । विजेतामध्ये प्रथम हुने टोलीले ५० हजार, दोस्रोले ३० हजार र तेस्रोले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
इच्छुकहरूले दुईदेखि चार सदस्यीय समूह बनाएर सहभागिता जनाउन सक्नेछन् । दर्ता प्रक्रिया www.cyberutsav.com
मार्फत ऑनलाइन उपलब्ध हुने आयोजकले जनाएको छ ।