विराटनगर । बियर, कोक, पेप्सी, फेन्टा, स्प्राइट र इनर्जी डिंक र सोडा लगायतका २५ प्रकारका पेय पदार्थ उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा कार्बन डाइअक्साइड (सिओटु) नेपालमै उत्पादन संभावना छ । देशभरका मदिरा उद्योगमा सहउत्पादनको रुपमा सिओटु निस्कन्छ । मदिरा उद्योगमा निस्कने सिओटुलाई अन्य हल्का पेय पदार्थका लागि प्रयोगमा ल्याउन यसको आयातमा हुने न्यून भन्सार दर बाधक बन्ने गरेको उद्योगीको गुनासो छ ।
संभावना देशभित्रै भएपनि भारतबाट अनावश्यक वस्तुको आयात भइरहेको उद्योगी बताउँछन् । हाल नेपालमा विराटनगरको प्रिमियर अर्गानिक्स उद्योगले मात्रै सिओटु उत्पादन गर्दै आएको छ । बाँकी मदिरा उद्योगले आफ्नो सहउत्पादन (बाइप्रोडक्ट) त्यतिकै खेर जान दिइरहेका छन् ।
प्रिमियरले प्याकेजिङ र बजारीकरण गर्दै आएको सिओटु अन्य उद्योगले प्रयोगमा ल्याउन नसक्नुको कारण भने सस्तो भन्सार दर र न्यून बीजकीकरणमा आयात हुनु हो । सिओटु बजारमा पठाउन लाग्ने लागत भन्दा कम मूल्यमा आयातित हुने गरेपछि अन्य उद्योग यसमा नलागेका हुन् ।
मोरङ व्यापार संघका अध्यक्ष अनुपम राठीका अनुसार यसको भन्सार महसुल १५ प्रतिशत तोकिएपनि साफ्टा सुविधाअन्तर्गत ७ दशमलव २५ प्रतिशतमा आयात गर्ने सुविधा छ । जस कारण नेपालमा मदिरा उत्पादन गर्ने उद्योगले अर्को प्लान्ट जडान गरेर यसको उत्पादनमा ध्यान दिदैनन् ।
नेपालमा सिओटु उत्पादन गर्दै आएको एक मात्रै उद्योग प्रिमियर अर्गानिक्सका सञ्चालन प्रदीप शारडाले सस्तो भन्सार दरमा आयात हुने कच्चासँग यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न असहज भइरहेको बताउँछन् । नेपालमा सिओटुको बिक्री प्रतिकिलोग्राम २२ देखि २५ रुपैँया रहेको छ । भारतबाट आयात गर्नेहरुले न्युज बिजकीकरणमा ५ रुपिँया प्रतिकेजीमा ल्याउने गरेको उद्योगी शारडाको भनाई छ । यसको न्यून बिजकीकरण हुनुको कारण हो, भन्सार विभागले सिओटुको सन्दर्भ मूल्य सूचीमा समावेश गरेको छैन । जसको फाइदा आयातकर्ताले उठाउँदै आएका हुन् ।
नेपालमा वार्षिक ६० लाख किलो सिओटुको खपत रहेको संघका अध्यक्ष राठीले जानकारी दिएका छन् । यसको नेपाली उत्पादन अहिले २२ लाख किलोग्राम छ । जुन प्रिमियरले गर्दै आएको छ । भारतबाट वार्षिक ४० लाख किलो सिओटु आपूर्ति हुँदै आएको छ ।
यदि आयात हुने सिओटुमा भन्सार दर बढाईदिने हो भने नेपालका अन्य मदिरा उद्योग समेत यसको उत्पादन गर्ने युनिट लगाउन तयार हुने तर्क उद्योगी शारडाको छ । भन्सार विभागले यसलाई सन्दर्भ मूल्य सूचीमा समावेश मात्रै गर्ने हो भने तत्कालै अन्य दुईवटा मदिरा उद्योगले सिओटु उत्पादन गर्ने युनिट थप गर्ने संभावना प्रचुर रहेको बताइन्छ ।
सीओटु हल्ला पेय पदार्थमा आउने फिँज हो, उद्योगी शारडाले भने–मदिरा उद्योगका लागि बाइप्रोडक्ट भएपनि बियर, कोक, पेप्सी, फेन्टा, स्प्राइट र इनर्जी डिंकको लागि कच्चा हुन्छ । सोडा उत्पादन गर्नेहरुका लागि पनि यो कच्चा मानिन्छ । सादा पानीमा सिओटु मिश्रण गरेपछि सोडा बन्ने गरेको छ ।