विराटनगर । भारतको वाणिज्य विभागले नेपालबाट प्याइउड बोकेर गएका नौ वटा ट्रक जफत गरेपछि पूर्वका दुई नाकाबाट यसको निकासी रोकिएको छ । विभागले भारतको डाइरोक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्स (डीआरआई)–को मद्दतमा मेची भन्सार र विराटनगर भन्सार कार्यालयबाट निकासी भएका प्लाईउडका ९ वटा ट्रक जफत गरेसँगै नेपाली उद्योगीको निकासी रोकिएको हो ।
मेची भन्सार कार्यालयबाट निकासी भएका ८ वटा ट्रक भारतीय भन्सार कार्यालय पानीटंकीमा साउन दोस्रो हप्तादेखि रोकेर गत हप्ता जफत गरिएको थियो । यसैगरी विराटनगर भन्सार कार्यालयबाट गत शुक्रबार निकासी भएको एउटा ट्रक जोगबनी भन्सारमा रोकेर मंगलबार जफत गरिएको हो ।
मेची भन्सार कार्यालयका अधिकृत एवं सुचना अधिकारी इश्वरकुमार हुँमागाईका अनुसार भारतीय पक्षको यो कारवाहीसँगै त्यो नाकाहुँदै प्लाइउड निकासी भएको छैन । प्लाइउड रोकिएपनि भेनियर भने रोकिएको छैन । विराटनगर भन्सार कार्यालयका अधिकृत एवं सूचना अधिकारी बिमल कुमार साहले गत शुक्रबारदेखि यता प्लाइउड निकासी नभएको जानकारी दिएका छन् ।
पानीटंकीमा नेपालका उद्योगले पठाएका ८ वटा ट्रकका प्लाइउडमा मेड इन इन्डिया लेखिएको र बिआइएस पाएका उद्योगले नपाएका उद्योगको उत्पादन पठाएको अभियोग लगाइएको थियो । जोगबनी भन्सारमा समेत उहि अभियोग लगाउँदै जफत गरिएपछि उद्योगीहरु हच्किएका हुन् ।
नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरेले प्लाइउड उद्योग समस्यामा परिरहेको बताएका छन् । बिआइएस मान्यता अनिवार्य गरिएपछि नेपालका उद्योगले पनि मिलाउन नसकेको बताएका छन् । संघका अध्यक्ष घिमिरेले भारतले कतिपय अवस्थामा गरिरहेको कडाई अनुसार नेपालले सहजीकरण गर्दै जानुपर्ने बताएका छन् । त्यहाँको मापदण्ड अनुसारको सामान मात्रै उसले लिन्छु भनेपनि उद्योगले ध्यान दिनुपर्ने उनको भनाई छ ।
भारतको अवरोधकै कारण गत आर्थिक वर्ष २०८१\२०८२ को साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको साउनमा आधार भन्दा कम प्लाइउडन निर्यात भएको काकडभिट्टा भन्सार कार्यालयको तथ्यांकमा उल्लेख छ । गतवर्ष साउनमा एक करोड ५ लाख ४७ हजार ७७१ किलोग्राम प्लाइउड निर्यात भएकोमा चालु आर्थिक वर्षको साउनमा ५० लाख ६६ हजार ६२९ किलोग्राम प्लाइउड भन्सार कार्यालय काकडभिट्टा बाट निकासी भएको देखिन्छ । तर, गतवर्ष बिआइएस लिनुपर्ने प्रावधान थिएन । देशभरका ३० प्लाई उद्योगले निकासी गरिरहेकोमा अहिले देशका ८ वटा उद्योगले मात्रै बिआईएस पाएका छन् ।
विराटनगर भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको साउन महिनामा नौ लाख ७७ हजार ३९ मेट्रिकटन प्लाइउड निकासी भएको तथ्यांकमा उल्लेख छ । गत शुक्रबारसम्म खासै अवरोध नभएका कारण निकासी भईरहेको प्लाइउड त्यसपछि भन्सारबाट जाँचपास नभएको हो ।