बंगलादेशले कच्चा जुट रोक्दा सुनसरी–मोरङका छवटा उद्योग संकटमा

<span class='c1'>बंगलादेशले कच्चा जुट रोक्दा</span> <span class='c2'>सुनसरी–मोरङका छवटा उद्योग संकटमा</span>

विराटनगर । बंगलादेश सरकारले नेपालमा आउने कच्चा जुट निर्यात रोक्दा सुनसरी–मोरङ औद्योगिक करिडोरमा रहेका छवटा जुट मिल संकटमा परेका छन् । उद्योगसँगै यसका काम गरिरहेका श्रमिकको मेत रोजीरोटी रोकिने स्थिति देखिएको छ । बंगलादेशमा त्यहाँका व्यवसायीले खुला र निःसर्त रूपमा जुटको निर्यात गर्दै आएको थिए । तर त्यहाँको सरकारले यसलाई नियन्त्रण गर्दै ससर्त बनाएपछि त्यहाँबाट नेपालका उद्योगीले कच्चा जुटको आयात रोकिएको हो ।

बंगलादेशले आन्तरिक बजारमा कच्चा जुटको आपूर्ति बढाउन र त्यहाँ क्रमशः बढिरहेको जुटको मूल्य नियन्त्रण गर्न निर्यातलाई सशर्त बनाउँदै अघोषित प्रतिबन्ध लगाएको बताइएको छ । बंगलादेशका सञ्चारमाध्यमले यसलाई प्रतिबन्धको संज्ञा दिएका छन् । त्यहाँको वाणिज्य मन्त्रालय अन्तर्गतको निर्यात शाखाले बंगलादेश जुट एसोसिएसन (बिजेए)–लाई सेप्टेम्बर ८ मा परिपत्र गर्दै कच्चा जुटको निर्यातलाई ससर्त निर्यातको सूचीमा समावेश गरेको जानकारी गराएको थियो ।

जसअनुसार सेप्टेम्बर ८ यताका कारोबारमा निर्यातसम्बन्धी एलसी, टीटी, सम्झौता, प्रोफर्मा इन्भ्वाइस लगायतका सबै कागजात एसोसिएसनका कार्यालय र वाणिज्य मन्त्रालयमा बुझाउन निर्यातकर्तालाई सूचित गरिएको छ । वाणिज्य मन्त्रालयले त्यहाँको जुट तथा गार्मेन्ट मन्त्रालयको सिफारिसमा निर्यातलाई ससर्त र कडा बनाएको जनाएको छ ।
एसोसिएसनले जुट निर्यातकर्ताका नाममा सेप्टेम्बर १० मा प्रकाशित गरेको परिपत्रमा भनिएको छ, ‘वाणिज्य मन्त्रालयको निर्यात शाखाको सेप्टेम्बर ८ को परिपत्रले कच्चा जुटलाई निर्यात वस्तुको सूचीमा सर्तसहित समावेश गरेको छ । त्यसैले निर्यात वस्तुको सूचीमा कच्चा जुटलाई समावेश गर्ने अनुमति प्राप्त गर्न सबै निर्यातसम्बन्धी कागजात बिजेएका कार्यालयमा बुझाउनु पर्नेछ ।’
मन्त्रालयको निर्यात शाखाले बिजेएलाई गरेको परिपत्रमा निर्यातकर्ताले यस्ता कागजात मन्त्रालयको सचिवालयमा सचिवलाई सम्बोधन गरेर पेश गरी निर्यातका लागि आवेदन गर्नुपर्ने उल्लेख छ ।
पशुपतिनाथ जुट मिल्सका सञ्चालक अमित जैनले बंगलादेश सरकारको वाणिज्य मन्त्रालयमा त्यहाँका निर्यातकर्ताले आवश्यक कागजात पेश गरे पनि मन्त्रालयले निर्यातको अनुमति दिन छाडेको बताए ।
उद्योगी जैनका अनुसार ७ तारिखसम्म भुक्तानी भएका वा एलसी खोलिएका ५० ट्रक कच्चा जुट बंगलादेश सरकारले ३ दिनअघि छाडेको छ । त्यसपछि निर्यातको अनुमति दिन रोक लगाएको छ ।

नेपालका उद्योग प्रभावित
बंगलादेशले कच्चा जुटको निर्यातलाई कडा बनाएसँगै नेपालका निर्यातमूलक प्रतिष्ठानका रूपमा स्थापित जुट उद्योग प्रभावित भएका छन् । नेपालका जुट उद्योगले आफ्नो उत्पादनको ९९ प्रतिशत वस्तु भारतमा निर्यात गरिरहेका छन् । नेपालबाट वार्षिक ८ अर्बभन्दा बढीका जुटका सामग्री भारततर्फ निर्यात गरिन्छ । यस वर्ष बंगलादेशको कच्चा जुट सस्तो परेका कारण नेपालका उद्योगीले बंगलादेशबाट कच्चा पदार्थ ल्याएर भारतमा तयारी वस्तुको निर्यात गरिरहेका थिए । अब बंगलादेशबाट कच्चा जुट आउन नसक्ने भएपछि भारतबाट आयात गरेको कच्चा जुटले भारतकै उद्योगसित प्रतिस्पर्धी हुन नसकिने उद्योगीको भनाइ छ । नेपाल जुट उद्योग संघका अध्यक्ष राजकुमार गोल्छाले बंगलादेशले नेपाल निर्यात हुने कच्चा जुटलाई सहज नबनाए नेपालका जुट उद्योग ढिलोमा ३ महिनामा बन्द हुने चेतावनी दिए ।

संघका अनुसार मोरङ र सुनसरीमा हाल चलिरहेका ६ वटा जुट उद्योगलाई वार्षिक ६५ देखि ७० हजार टन जुटको आवश्यकता छ । जसमध्ये १५ देखि २० हजार टन नेपालमा उत्पादन गरिन्छ । बाँकी ५० देखि ६५ हजार टन सम्म कच्चा जुटको आयात नै गर्नुपर्दछ ।
नेपालका उद्योगले भारत र बंगलादेश जता सस्तो भयो त्यतैबाट आयात गर्दै आएका छन् । संघका उपाध्यक्ष एवम् स्वस्तिक जुट मिल्सका सञ्चालक रमेश राठीले साउन १५ देखि कच्चा जुट उत्पादनको नयाँ सिजन सुरु भएपछि भारतको भन्दा बंगलादेशको जुट किलोमा १० देखि १५ रुपैयाँसम्म सस्तो भएको बताए ।
भारत र बंगलादेश दुबै जुट खेतीका हब मानिन्छन् । तर केही वर्षयता दुबै मुलुकका किसान जुटखेतीबाट टाढिन थालेका छन् । उनीहरू मकैखेतीतर्फ धेरै आकर्षित भएका छन् । कच्चा जुटको उत्पादनमा सबै काम ‘म्यानुअल’ नै हुन्छ । यसलाई पानीको फोहर खाडीमा पसेर धुनुपर्ने हुन्छ । यो काम गर्न नयाँ पुस्ताका श्रमिकहरू हिच्किचाउँछन् । अर्कातिर मकैखेती अत्याधुनिक प्रविधिबाट मेसिनको प्रयोगले गरिन्छ । यसमा म्यानुअल काम कम हुन्छ । लागतका तुलनामा मकैको बजारमूल्य र माग पनि राम्रो छ । दाना उद्योगका सञ्चालक मकै खरिद गर्न खेतमै आइपुग्छन् । यसका कारण नेपाल, भारत र बंगलादेश तीन वटै देशका किसानहरू जुट छाडेर मकैखेतीतर्फ आकर्षित भएका हुन् ।

बिजेएका अनुसार यस वर्ष बंगलादेशमा १६ लाख ११ हजार ५४० टन कच्चा जुट उत्पादन भएको छ । जबकि गत वर्ष १७ लाख २४ हजार ७६० टन उत्पादन थियो । यस वर्ष जुटको उत्पादन भारतमा पनि घटेको छ । भारत सरकारको प्रारम्भिक अध्ययनले यस वर्ष १५ लाख १७ हजार ९४० टन जुटको उत्पादन भएको देखाएको छ । जबकि गत वर्ष १७ लाख ६५ हजार ३६० टन उत्पादन भएको थियो ।
यसरी दुबै देशमा कच्चा जुटको उत्पादन घटेपछि यसको मूल्य आकासिएको हो । र, बंगलादेश सरकारले निर्यातमा नियन्त्रण गरेको हो ।

गोल्छा सहजीकरणका लागि बंगलादेशमा
बंगलादेश सरकारले कच्चा जुटको आयातमा नियन्त्रण सुरु गरेपछि संघका अध्यक्ष गोल्छा बंगलादेश गएका छन् । अध्यक्ष गोल्छाले नेपाल सरकारले बंगलादेशका तर्फबाट कच्चा जुटको निर्यातमा नियन्त्रण भएको जानकारी पाउनेबित्तिकै कूटनीतिक पहल गरिसकेको बताए । गोल्छाका अनुसार संघले उद्योग मन्त्रालयमा पत्राचार गर्दै बंगलादेशबाट आयात हुने कच्चा जुटमा सहजीकरण गरिदिन कूटनीतिक पहलका लागि अनुरोध गरेको थियो ।‘संघले पत्र पठाउनेबित्तिकै उद्योग मन्त्रालयले परराष्ट्रलाई र परराष्ट्रले सम्बन्धित दूतावासलाई पत्राचार गरिसकेको छ । नेपाल सरकारको अनुरोध बंगलादेश सरकारसित पुगिसकेको छ । त्यसैले हामी थप अनुरोध गर्न र अवस्था स्पष्ट पार्न बंगलादेश गएका हौँ’, अध्यक्ष गोल्छाले भने ।
उद्योग मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले अध्यक्ष गोल्छाको जानकारी पुष्टि गर्दै संघले अनुरोध गर्नेबित्तिकै मन्त्रालयले परराष्ट्रमा पत्राचार गरेको जानकारी दिए ।
‘परराष्ट्रले पनि दूतावास लगायतका निकायमा अनुरोध सहितको पत्राचार गरिसकेको छ । त्यसैले केही दिनमै यस समस्याको सहजीकरण हुने कुरामा हामी विश्वस्त छौँ’, सचिव डा. घिमिरेले सुनाए ।

यस्तो छ आयातको तथ्यांक
चालु आर्थिक वर्षको साउन महिनामा भारतबाट ५ करोड ६५ लाख ६७ हजार मूल्यको ४ लाख ३२ हजार ४ सय किलो जुट आयात भएको थियो । जसअनुसार यस कारोबारमा एक किलो जुटको १३० रुपैयाँ ८२ पैसा परेको छ । तर बंगलादेशबाट गत साउनमा किलोको ११९ रुपैयाँ ४ पैसामा आयात भएको देखिन्छ ।
भन्सार विभागका अनुसार बंगलादेशबाट गत साउनमा २८ करोड ५७ लाख ६ हजार मूल्यको २४ लाख किलो कच्चा जुटको आयात भएको छ । गत आर्थिक वर्ष २०८१–८२ को तथ्यांक अध्ययन गर्दा बंगलादेशबाट किलोको १०१ रुपैयाँ ८० पैसा र भारतबाट १०४ रुपैयाँ १२ पैसामा आयात भएको पाइन्छ । गत आवमा बंगलादेशबाट २ करोड ६३ लाख ५७ हजार ७४० किलो र भारतबाट २ करोड ३७ लाख ८७ हजार ८ सय किलो कच्चा जुटको आयात भएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा पनि भारतभन्दा बंगलादेशबाटै सस्तोमा र बढी आयात भएको छ । बंगलादेशबाट हुने आयात किलोको ८१ रुपैयाँ परेको छ । त्यहाँबाट २ करोड ३७ लाख ३५ हजार किलो आयात गरिएको छ । त्यस्तै भारतबाट किलोको ८७ रुपैयाँ २६ पैसामा ल्याइएको छ । त्यहाँबाट २ करोड ७ लाख ६१ हजार ८८३ किलो आयात भएको छ । आर्थिक वर्ष २०७९–८० मा भने बंगलादेशका तुलनामा भारतबाट बढी आयात गरिएको छ । उक्त आवमा बंगलादेशको आयात किलाको ९८ रुपैयाँ २६ पैसा परेको छ र १ करोड ३१ लख ९८ हजार ७२६ किलो आयात भएको छ ।
त्यस्तै भारतबाट किलोको ९९ रुपैयाँ ६० पैसामा ३ करोड ३९ लाख ५० हजार २२९ किलो आयात गरिएको भन्सार विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्