नेपाली राष्ट्रिय क्रिकेट टोलीले ऐतिहासिक टी-२० शृंखलामा विश्वविजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गर्दै सानदार सुरुवात गरेको छ।
शारजाहमा सम्पन्न पहिलो टी-२० खेलमा नेपालले प्रस्तुत गरेको १४९ रनको मध्यम लक्ष्य पछ्याएको वेस्ट इन्डिज निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रनमा समेटियो।
यो जितसँगै नेपालले तीन खेलको शृंखलामा १-० को अग्रता लिएको छ। नेपाली बलरहरूको कसिलो र अनुशासित प्रदर्शनसामु वेस्ट इन्डिजका शक्तिशाली ब्याट्सम्यानहरू चल्न सकेनन्।
त्यसअघि, टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४८ रन बनाएको थियो। नेपालको सुरुवात भने निकै खराब रह्यो।
पावरप्ले भित्रै मात्र १२ रन बनाउँदा नेपालले आफ्ना दुवै ओपनर कुशल भुर्तेल (६) र आसिफ शेख (३) लाई गुमाइसकेको थियो।
सुरुवाती संकटमा परेको नेपालको इनिङ्सलाई तेस्रो विकेटका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले उकासेका थिए। उनीहरूले ५९ रनको महत्वपूर्ण साझेदारी गर्दै टोलीलाई सम्मानजनक स्कोरतर्फ डोर्याए।
कप्तान पौडेलले ३५ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३८ रनको योगदान दिए भने कुशल मल्लले २१ बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३० रनको विस्फोटक पारी खेले। त्यसपछि गुलशन झाले १६ बलमा २२ तथा दीपेन्द्रसिंह ऐरीले १९ बलमा १७ रन जोडेका थिए।
वेस्ट इन्डिजका लागि बलिङमा अनुभवी अलराउन्डर जेसन होल्डर नायक बने। उनले आफ्नो ४ ओभरको स्पेलमा मात्र १८ रन खर्चेर ४ महत्वपूर्ण विकेट लिए। त्यस्तै, नविन बिदाइसीले ३ विकेट लिँदा कप्तान अकिल होसेनले १ विकेट हात पारे।
बलियो मानिएको वेस्ट इन्डिजमाथिको यो जित नेपाली क्रिकेट इतिहासकै एक अविस्मरणीय क्षण बनेको छ।