विराटनगर । हालैको अविरल वर्षा र बाढीले प्रभावित विराटनगर–१२ र १६ का बाढीपीडितहरूका लागि जीवन विकास सामुदायिक अस्पतालले आज स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा स्थानीय सो क्षेत्रका बासिन्दाहरुलाई निःशुल्क स्वास्थ्य परीक्षणका साथै आवश्यक औषधि वितरण गरिएको अस्पतालले जानकारी दिएको छ ।

शिविरमा बाढीपछिको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै सर्दी, खोकी, छालाका समस्या, पानीजन्य रोग, सुगर , प्रेसर सम्बन्धी जाँच गरिएको जीवन विकास सामुदायिक अस्पतालका व्यावस्थापन समिति सदस्य विनय गजुरेलले जानकारी दिनुभयो ।
अस्पतालका बालरोग विशेषज्ञ डा. सुमित घिमिरेको नेतृत्वमा अन्य चिकित्सक तथा न नर्सहरुको टोलीले करिब डेढ सय बढी बाढी प्रभावित नागरिकको स्वास्थ्य परीक्षण गरेका थिए । सामुदायिक अस्पतालका फिल्ड मेनेजर अजयकुमार साहले भने, “बाढीपिडितहरुको स्वास्थ्य चेकजाँचसँगै जीवन विकास लघुविरत्त सस्थाद्धारा शनिबार विहानैदेखी निशुल्क खानाको पनि प्रवद्धन गरिरहेका छौँ ।”

कार्यक्रममा स्थानीय सो वडाका जनप्रनिधी तथा समाजसेवीहरूको सहभागितामा स्वास्थ्य शिविरसँगै निशुल्क खानाको व्यावस्थापन गरिएको थियो । स्वास्थ्य शिविरमा औषधि वितरण, प्राथमिक उपचार र स्वास्थ्य सल्लाहका साथसाथै आवश्यक रोग नियन्त्रणका उपायहरूबारे सचेतना कार्यक्रम पनि गरिएको जीवन विकास समुदायिक अस्पतालका संयोजक तेजस्वी मण्डलले जानकारी दिनुभयो । यसका साथै जीवन विकास लघुवित्त सस्थाले मोरङ लगायत अन्य देशका विभिन्न स्थानहरुमा बाढी प्रकोप क्षेत्रमा निशुल्क खाना र आवास व्यावस्थापन गरिरहेको जनाएको छ ।
