विराटनगर । इसराइल र हमासबीच युद्धविराम सम्झौता भएको छ। इजिप्टमा सोमबारदेखि जारी अप्रत्यक्ष वार्तापछि बिहीबार बिहान युद्धविराम सम्झौता भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसलाई अझै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर इसराइल र हमासबीच पहिलो चरणको युद्धविराम सम्झौता भएको पुष्टि गरेका छन् ।
यो युद्धबिरामसँगै प्यालेस्टिनी अतिवादी समूह हमासले बन्धक बनाएको नेपाली विद्यार्थी विपिन जोशी फर्कने आसा परिवारजनले राखेका छन् । परिवारसँगै आम नेपालीले विपिन देश फर्कनेमा आत्माविश्वास जगाएका छन् ।
विपिनको दुईवर्ष पुरानो भिडिओ यतिबेला सार्वजनिक भएको छ। उनकी बहिनी पुष्पा जोशीले आफ्नो दादा हमासको कब्जामा रहेको बखत नोभेम्बर २०२३ को भिडियो सार्वजानिक गरिएको बताएकी छिन् । यसको कारणमा इसराइल र हमासबीच युद्धबिरामको मध्यस्थता अमेरिकाले गरिरहेको थियो । विश्वको महाशक्ति राष्ट्रले युद्धबिरामको मध्यस्थता गरिरहेका बेला आफ्नो दाजु हमासको कब्जामा रहेको प्रमाण सार्वजानिक गर्दा रिहाईका लागि दवाव पुग्ने विश्वास उनले राखेकी छिन् । बहिनी पुष्पाले भनेकी छिन्–आफ्नो दाजु गजामै रहेको पुष्टि गर्नका लागि मात्रै पुरानो भिडियो सार्वजानिक गरिएको हो ।
सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एन्ड अर्न कार्यक्रममार्फत इसराइल पुगेका विपिनलाई २०२३ अक्टोबर ७ मा हमासले बन्धक बनाएर गजा पुर्याएको थियो।त्यसयता पहिलोपटक विपिन जोशी आफै बोलेको भिडिओ सार्वजनिक भएको हो। इसराइली मिडियाहरुले सार्वजनिक गरेको उक्त भिडिओमा विपिनले आफ्नो परिचय मात्रै दिएका छन्। ‘म विपिन जोशी। म नेपालबाट हुँ। २३ वर्षको भएँ। म २५ दिनअघि मात्रै इसराइल आएको थिएँ। लर्न एन्ड अर्न कार्यक्रममा आएको हुँ। म विद्यार्थी हुँ’ ३० सेकेन्डमा उनले यति मात्रै भनेका छन् ।
इसराइली अनलाइन जेरुसलेम पोस्टले पुष्पाको भनाईलाई पुष्टि गर्ने समाचार प्रकाशित गरेको छ । जसमा विपिनको सार्वजनिक भएको उक्त भिडिओ दुई वर्ष पुरानो हो। उक्त भिडिओ विपिन बन्धक भएर गजा पुर्याइएकै वर्षको नोभेम्बरमा खिचिएको थियो। जेरूसलेम पोस्टका अनुसार उक्त भिडिओ इसराइलले नै विपिनको परिवारलाई दिएको थियो। इसराइलले त्यतिबेला भिडिओ सार्वजनिक नगर्नू भनेको थियो। अहिले अनुमति दिएपछि परिवारले नै विपिनको भिडिओ सार्वजनिक गरेको हो।
गत साउन २६ गते विपिनकी आमा पद्मा र बहिनी पुष्पा इसराइल गएका थिए। त्यहाँबाट फर्केर उनीहरु असोज ८ गते अमेरिका गएका छन् । अमेरिकामै रहेकी पुष्पाले जेरूसलेम पोस्टसँगको कुराकानी गर्दै युद्धविराम र बन्धकहरूलाई मुक्त गर्नका लागि दबाब होस् भनेर भिडिओ सार्वजनिक गरेको बताएकी छन्।
यद्यपी दुईवर्ष पुरानो भिडियो सार्वजानिक भएपनि विपिनको अवस्था बारे अझैसम्म कुनै जानकारी नभएको इसराइलका लागि नेपालका राजदूत प्रा. डा. धनप्रसाद पण्डितले बताएका छन् । यद्यपी युद्धबिराम सम्झौताअनुसार हमासले ढिलामा शनिबारदेखि बन्धकहरू छाड्न थाल्ने भनिएको छ। उसले त्यसको ७२ घन्टाभित्र जिवित र मृत गरी सबै ४८ जना बन्धक छाड्ने सम्भावना छ। हमाससँग बाँकी रहेका ४८ बन्धकमध्ये २० जनामात्रै जीवित रहेको यकिन भएको छ।
अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सले इसराइल र हमासबीच युद्धविराम सम्झौतापछि एकजना जानकार अधिकारीसँग कुराकानी गर्दै बन्धक रहेकामध्ये २० जनामात्रै जीवित रहेको उल्लेख गरेको छ । यद्यपी यसलाई थप पुष्टि गर्ने आधार भनेको हमाससँग बन्धक ४८ जनाको अवस्था सार्वजानिक नै हुनेछ । हाल २० जना बन्धकहरू जीवित छन्। उनीहरूलाई सम्भवतः आइतबार हमासले एकसाथ रिहा गर्नेछ कुरा टाइम्सले उल्लेख गरेको छ । हमासले जीवितलाई आइतबार र मृतक भनिएका २८ जनालाई चरणबद्ध रुपमा इसराइलको जिम्मा लगाउनेछ। शव पहिचानका लागि समय लाग्ने भएकाले मृतक बन्धक हस्तान्तरण गर्न केही समय लाग्ने भनिएको छ ।
सन् २०२३ को अक्टोबर ७ मा हमासले इसराइलमा आक्रमण गरी त्यहाँबाट २५१ जनालाई बन्धक बनाएर गजा पुर्याएको थियो। झन्डै २ वर्षको अवधीमा पटकपटक भएका युद्धविराम र बन्दी साटासाट क्रममा हमासले २०३ जना बन्धक यसअघि नै छाडिसकेको छ।