विराटनगर । सुनसरीको रामधुनी नगरपालिका २ कर्मनिया टोलमा सिटी सफारी चालकको अज्ञात समुहद्धारा हत्या भएको छ । शनिबार साँझ ५ बजेको समयमा रामधुनी २ का अन्दाजी ४७ बर्षिय दिनेशकुमार चौधरीको हत्या भएको सुनसरी प्रहरीले जनाएको छ ।
सिटी सफारी सहित सडक छेउमा रगताम्य अवस्थामा फेला परेका चौधरीको शरिरमा गहिरो चोट लागेकाले गोली हानी हत्या गरिएको होकी भन्ने अनुमान गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाका अनुसार घटना स्थलमा कुनै पनि गोलीको खोकाहरु नभेटिएकाले गोली नै हानेर हत्या गरिएको हो भन्ने अहिले नै भन्न सकिदैन । डिएसपी खतिवडाले भने, ‘‘मृतक चौधरीको शवको मुचुल्का उठाएर पोष्टमार्टमको लागि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा लागिएको छ, अब पोष्टमार्टमको रिर्पोट आएपछि मात्रै गोली प्रहारबाट हो — होईन भन्ने थाहा हुनेछ ।’’
घटनाको जानकारी प्राप्त हुनासाथ प्रस्तावित इलाका प्रहरी कार्यालय रामधुनीका प्रमुख प्रहरी निरीक्षक सुजन मुदेलको कमाण्डमा प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। घटनास्थलमै चौधरीको मृत्यु भइसकेको पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केशवकुमार थेबे नेतृत्वको टोली पनि थप अनुसन्धानका लागि घटना स्थल पुगेको थियो ।