सुर्खेत । फिरन्त जीवन जिउँदै आएका लोपोन्मुख राउटे समुदायका अधिकांश बिरामी परेका छन् । लेकवेशी नगरपालिका–८ मा बस्दै आएका राउटे समुदायमा विरामीको सख्या बढ्दै गएको छ ।
पछिल्लो एक हप्तामा यो समुदायका २५ जना विरामी छन् । अस्पतालमा गएर उपचार गर्न नमान्ने राउटे समुदामा बिरामीको संख्या बढ्दै गए पछि समस्या देखिएको छ । सुरुमा दुई जना बिरामीबाट सुरु भएको संक्रमण २५ जनामा फैलिएको राउटेकी उपचारमा खटिएका स्वास्थ्यकर्मी अनुजा पन्तले बताइन् । बस्तीमा बिरामी पर्ने राउटेको संख्या दिनहुँ बढ्दै गएको उनले बताइन् ।बिरामीहरुलाई अत्यधिक ज्वरो आउने, खाना नखाने तथा आलस्य बढ्ने भए पछि बिरामी राउटेहरु थला परेका छन् । डेंगुलगायतका अन्य स्वास्थ्य परिक्षणमा मन नगर्ने राउटेहरुलाई प्राथमिक उपचारमा सिमित राख्नु परेको उनको भनाइ छ । ‘राउटे बस्तीमा ज्वरोको संक्रमण बढ्दो छ । २५ जनाभन्दा बढी बिरामी परेका छन्,’ स्वास्थ्यकर्मी पन्तले भनिन्, ‘तर राउटेहरू डेङ्गुलगायत रोग चेकजाँच गर्न मान्दैनन् । त्यसैले प्राथमिक उपचारमात्र गर्ने गरिएको छ ।’
अस्वस्थ जीवनशैली, मदिरा तथा सूर्तिजन्य पदार्थ सेवनका कारण राउटे समूदायका मानिसहरुमा गम्भीर प्रकृतिका स्वास्थ्य समस्या बल्झदै गएका छन् । राउटेहरु प्रायः कर्णाली प्रदेशका दैलेख, सुर्खेत, सल्यान लगायतका पहाडी जिल्लाका वन क्षेत्रमा अस्थायी टहरा बनाएर बसोबास गर्छन् । राउटे समुदायको संख्या लगातार घटिरहेको छ ।राष्ट्रिय मानवअधिकार आयोगले गरेको अध्ययन २०८१ को प्रतिवेदनले पनि राउटे समुदायको संख्या लगातार घट्दो क्रममा रहेको देखाउँछ । प्रतिवेदनमा २०७५ सालमा १४९ रहेको राउटेको जनसंख्या हाल घटेर १३७ जनामा झरेको छ ।
बस्तीमा असुरक्षित महसुस
समुदायमा त्रास बढेपछि राउटेले सुरक्षा माग गरेका छन् । पछिल्लो समय बाह्य व्यक्तिहरूको अनाधिकृत प्रवेशले राउटे समुदायले असुरक्षित महसुस गर्न थालेका हुन् ।जंगलमा बस्दै आएका उनीहरूका बस्तीमा जथाभावी बाह्य व्यक्तिहरूको प्रवेशले असुरक्षित महसुस गरेको उनीहरूको भनाइ छ । विभिन्न बहानामा राउटे बस्तीमा जाने र त्यहाँ विभिन्न अवाञ्छित क्रियाकलाप गर्ने प्रवृत्ति बढेको हो ।असोज २४ राति राउटे समुदायमा त्रास सिर्जना गर्ने एक युवालाई राउटे समुदायका युवाहरूले नियन्त्रणमा लिएका थिए ।सुर्खेतको लेकबेशी नगरपालिकाका ती युवकले मदिरा सेवन गरी रातिका समयमा राउटेबस्तीमा छिरेका थिए । शनिबार बिहान ती समुदायका युवाहरूले नजिकैको प्रहरीलाई खबर गरी ती युवालाई प्रहरीको जिम्मा लगाएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले आइतबार पक्राउ परेका लेकवेशी नगरपालिका स्थायी घर भएका उनीमाथी जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले राउटे बस्तीमा अनाधिकृतरुपमा प्रवेश गरेका उनीमाथि अनुसन्धान थालिएको बताए । पछिल्लो समय बाह्य व्यक्तिहरूको अनधिकृत प्रवेशले राउटे समुदाय असुरक्षित बन्दै गएको छ ।