विराटनगर । कोशी प्रदेशको पूर्वीपहाडी जिल्ला ताप्लेजुङलाई धनकुटाहुँदै तराईको सुनसरीसँग जोड्ने तमोर करिडोर सडकले जोडिएपनि पुलको दुःख पार लाग्न सकेको छैन । धनकुटाको मुलघाटदेखि पाँचथरको गणेशचौकसम्म सडकमा सवारीको चाप बढ्दै गएको छ । तर, यो बीचमा पर्ने आठ खोलामा पुल नहुँदा करिडोरमा सवारी आवागमनमा असहजता पार गर्नुपर्ने स्थिति रहेको छ ।
तमोर करिडोर, सडक (चतरा–मुलघाट–सुभाङखोला) ले अहिले सुनसरीको बराहाक्षेत्रस्थित चतरादेखि पाँचथरको गणेशचौकसम्मको काम गरिरहेको छ । यसमध्ये धनकुटाको मुलघाटदेखि पाँचथरको गणेशसम्मकोे ११२ किलोमिटर दुरी भित्र आठवटा पुलको काम पुल पुलसेक्टर आयोजना इटहरीले गरिरहेको छ । कोशी राजमार्ग हुँदै धरान धनकुटा भएर मुलघाटबाट तमोर करिडोर लाग्ने सडक सहज भएपनि यहि सडकमा बन्नुपर्ने पुलको काम ढिलासुस्तीले झन्झट थपिदिने गरेको छ ।
सडक बनेपछि पुल संरचनाका लागि बाटो खोलिएका कारण पनि आठ वटा पुल निर्माणको काममा ढिलाई भएको पुल सेक्टर आयोजना इटहरीका सूचना अधिकारी आविष्कार तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्म तीनवटा प्याकेजमा आठ पुलको ठेक्का व्यवस्थापन गरिएको छ । जसमध्ये पाँचथरको हेवा, धनकुटाको लोरिया, धनकुटाको लखुवा र धनकुटाको नावा खोलाको पुल डिजाइन स्वीकृतीको चरणमा रहेका छन् । यी पुलमध्ये हेवा ४० मिटर, लोरिया २० मिटर, लखुवा १५० मिटर नावा १५० मिटर लम्बाईका छन् । यी चार खोलामा निर्माण गरिने पुलको लागत ३ अर्ब ७२ करोड १५ लाख अनुमानित छ । २०७८ सालमै ठेक्का व्यवस्थापन भएर २०८३ साल फागुनसम्म सम्पन्न हुनुपर्ने पुलको अहिलेसम्म डिजाइन स्वीकृत समेत भएको छैन ।
यस्तै धनकुटाको छरुवा खोला (१६५ मिटर) मा २०७८ फागुन ६ गते पुल निर्माण सम्झौता भएपनि हालसम्म ५० प्रतिशत मात्रै काम भएको छ । यसको म्याद २०८२ साल कार्तिक १३ गतेसम्मलाई रहेको छ । पुलको लागत १ अर्ब ७२ करोड ३७ लाख ९ हजार ५४० रहेको छ । समयमै नसकिने भएपछि म्याद थप गर्ने चरणमारहेको इन्जिनियर तिम्सिनाले जानकारी दिनुभयो ।
यसैगरी धनकुटाको रघुवा (१५०), खम्बुवा (४०) र बधुवा (४०) को काम समेत सुस्त रहेको छ । यी तीन खोलामा पुल सम्झौता २०७८ सालमै भएको थियो म्याद थपसहित २०८३ साल बैशाख मसान्तमा सम्पन्न हुनुपर्ने पुलको काम भने शुन्यप्रतिशतदेखि ४५ प्रतिशत मात्रै रहेको छ । यसका लागि २ अर्ब २५ करोड २७ लाख निर्माणमा लाग्नेछ ।
धार्मिक पर्यटकलाई सहज
तमोर नदीको करिडोर, सडकमा रुपान्तरण भएपछि पूर्वीपहाडी जिल्ला ताप्लेजुङको पाथीभरा दर्शन गर्ने कोशी र मधेशका धार्मिक पर्यटकलाई अझै सहज भएको छ । कोशी प्रदेशको ताप्लेजुङसँग कोशी प्रदेशको राजधानी विराटनगरको यात्रा १० घण्टामा तय हुन थालेको छ । त्यसैले पाथीभरा जाने प्रदेश राजधानी विराटनगरका तिर्थालु सार्वजानिक सवारीदेखि निजी सवारीको प्रयोग गरेर तमोर करिडोरबाट यात्रा कस्न थालेका छन् । यति मात्रै नभई मधेश प्रदेशका तिर्थालु पनि यहि सडकमार्ग हुँदै पाथीभरा पुग्ने गरेका छन् ।
पूर्वीपहाडी जिल्लाको समृद्धिको सेतु यो करिडोरले धनकुटा–तेह्रथुम–पाँचथर–ताप्लेजुङ जिल्लाका तमोर करिडोर नजिकका बस्तीलाई समेत तराईसँग सहज पहुँचमा पु¥याएको छ । अझै यो करिडोरमा सुनसरीको बराहाक्षेत्रको चतरा पनि पर्दछ । तमोर करिडोरले दुरी मात्रै नभई दुर्गम बस्तीहरुलाई सुगममा रुपान्तरण गरिदिएको हो ।
दुई खण्डमध्ये सुनसरीको बराहाक्षेत्रस्थित चतरा–धनकुटाको मुलघाट–पाँचथरको गणेशचौक सडक कालोपत्रे भइरहेको छ । धनकुटाको मुलघाटदेखि पाँचथरको गणेशचौकसम्म ११२ किलोमिटर दुरीमध्ये दुई खण्डमा ठेक्का व्यवस्थापन गरिएको तमोर करिडोर, सडक योजना (चतरा–मुलघाट–सुभाङखोला) का इन्जिनियर तथा सूचना अधिकारी जयराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कालोपत्रे ११२ मध्ये दुई खण्डमा ठेक्का व्यवस्थाप भएको छ । जसमा मुलघाटदेखि हान्थुवासम्म पुलको पहुँच सडकसमेत ६७ किलोमिटरमध्ये ६३ किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का व्यवस्थापन भएको छ । जसमा ४८ किलोमिटर कालोपत्रे भइसकेको छ । हान्थुवादेखि गणेशचौकम्मको ४६ किलोमिटर दुरीमध्ये ७ किलोमिटर कालोपत्रे भइसकेको अधिकारीले जानकारी दिनुभयो ।
२०६५ सालमा संसद विकास कोषको पाँच लाख रुपिँया बिनियोजन गरेर तत्कालिन सांसद हेमराज भण्डारीले यो करिडोरको सुरुवात गर्नु भएको स्थानीयको भनाई छ । त्यसपछि २०६७ सालदेखि करिडोर निर्माण राष्ट्रिय गौरवमा समेटिएको थियो ।
यो करिडोरका दुई खण्डमा सुनसरीको बराहाक्षेत्र चतरा–धनकुटाको मुलघाटबाट पाँचथरको गणेशचौक र गणेशचौकबाट ताप्लेजुङको दोभान हुँदै ओलाङचुङगोलासम्म पर्दछ । जसले चीनको तिब्बतसँग सडक करिडोरको मार्ग जोड्दछ । इन्जिनियर अधिकारीका अनुसार यो मुलघाटदेखि १८० किलोमिटरमा ओलाङचुङगोलालाई छुन्छ । मुलघाट–गणेशचौक ११२ किलोमटर, मुलघाटदेखि सुनसरीको बहराक्षेत्रस्थित चतरासम्म ४३ किलोमिटर छ । मुलघाट–चतरामा अहिले ४ किलोमिटर कालोपत्रे गर्ने ठेक्का व्यवस्थापन भएको छ ।
विराटनगरका बिनोद मेहता आफ्नो सवारी भाडामा लगाएर ताप्लेजुङको पाथीभरा जाने यात्रुहरुका सारथी बन्दै आउनु भएको छ । उहाँका अनुसार मेची राजमार्ग भएर बिर्तामोड हुँदै इलाम, पाँचथर र ताप्लेजुङ पुग्नभन्दा पाँच घण्टा कम समय तमोर करिडोरबाट लाग्ने गरेको सुनाउनुहुन्छ । विराटनगरबाट बिहान ५ बजे हिडेको गाडी ३ बजे फुङलिङ्ग पुग्ने गरेको मेहताले बताउनुभयो । तर, इलाम हुँदै जाने हो भने ८ बजे मात्रै फुङलिङ्ग पुग्न सकिने स्थिति रहेको उहाँको भनाई छ ।