विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय नयाँबजार इलाममा कार्यरत प्रहरी सहायक निरीक्षक रमेश कुमार चौधरीलाई असोज “महिनाको सर्वोत्कृष्ट प्रहरी” घोषित गरेको छ । विभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी सहायक निरीक्षक रमेश कुमार चौधरीलाई असोज महिनाको सर्वोकृष्ट प्रहरी घोषित गरिएको हो ।
गत महिना असोज १९ गते अविरल वर्षाको कारण बाढी र पहिरो जाँदा इलामको माइजोगमाई गाउँपालिका–६ प्याङमा तत्काल उद्दार कार्यमा खटि बाढी र पहिरोमा पुरिएर मृत्यु भएका ८ जनाको शवलाई उत्खनन गरी पहिरोबाट निकालेको, माइजोगमाई गाउँपालिका–५ र ६ वडाका २ जना सुत्केरी महिला र १ जना सिकिस्त बिरामीहरुलाई तत्काल हेली मार्फत उद्दार गर्न सहजिकरण गरेको भन्दै प्रसंशा गरिएको छ ।
यसैगरी बाढी, पहिरोबाट क्षति भएको इलाका प्रहरी कार्यालय नयाँबजारको लागी स्थानीय समाजसेवीसँग समन्वय गरी ५० हजार मूल्य बराबरको फर्निचर लगायतका सामाग्री तत्काल उपलव्ध गराएको र माइजोगमाई गाउँपालिकाको विभिन्न स्थानमा बाढी पहिरोको कारण अवरोध भएको सडक स्थानीय प्रतिनिधि लगायत सरोकारवाला निकायहरूसँग समन्वय गरी द्रुत गतीमा सुचारू गराएको भनिएको छ ।