विराटनगर कार्तिक १९ , विराटनगरमा बालबालिकाको क्षमता विकास र आत्मविश्वास अभिवृद्धिका उद्देश्यले ‘फेस अफ विराटनगर जुनियर’ प्रतियोगिता सञ्चालन भइरहेको छ। रोनक फेसन एजेन्सी र ताज इभेन्ट्सको संयुक्त आयोजनामा भइरहेको उक्त कार्यक्रममा १६ जना प्रतियोगीले विभिन्न प्रशिक्षण र प्रतिस्पर्धात्मक राउण्डमा सहभागिता जनाइरहेका छन्।
आयोजक रोनक अग्रवालका अनुसार प्रतियोगिताको फिनाले कार्तिक २९ गते हुने तय गरिएको छ। “साना बालबालिकाको प्रतिभा उजागर गर्न र उनीहरूलाई मञ्चमा आत्मविश्वासका साथ प्रस्तुत हुन प्रेरित गर्ने मुख्य उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो,” अग्रवालले बताए।
विराटनगरका विभिन्न विद्यालयका विद्यार्थी सहभागी रहेको प्रतियोगितामा हालसम्म ट्यालेन्ट राउण्ड सम्पन्न भइसकेको छ भने अहिले प्रतियोगीहरूलाई विभिन्न क्षेत्रका विज्ञबाट व्यक्तित्व विकास, प्रस्तुति र फेसन प्रशिक्षण दिइँदैछ।
मंगलबारको सत्रमा युवा उद्यमी तथा मिडियाकर्मी बिबेक दाहालले प्रतियोगीहरूसँग संवाद गर्दै आत्मविश्वास र प्रभावकारी सञ्चारका विषयमा प्रशिक्षण दिएका थिए।
आयोजकले प्रतियोगिताबाट विजेता बालबालिकालाई बिभिन्न क्षेत्रतर्फ अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।