विराटनगर । मोरङको रंगेली नगरपालिकासँग सीमा जोडिएको भारतीय भूमिमा केहिदिनयता देखिदै आएको हाइना (हुँडार) नेपालतर्फ प्रवेश गरेको आशंका गरिएको छ । यद्यपी हाइना मोरङको रंगेली क्षेत्रमा देखिएको यकिन भने अहिलेसम्म सरकारी अधिकारीहरुले पुष्टि गरिसकेका छैनन् । तर, हाइना नेपाल प्रवेश गर्नसक्नेतर्फ सबै निकाय चनाखो भने भएका छन् ।
मोरङको रंगेली नगरपालिका–५ आँपगाछी तथा ४ नम्बर वडाको धनपती क्षेत्रमा शनिबार साँझ स्थानीयले देखिएको भनिएपनि त्यसको पुष्टि सरकारी संयन्त्रबाट हुन सकेको छैन । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक नगेन्द्र बोगटीका अनुसार राती स्थानीयले हाइना देखियो भनेको स्थानमा पुग्दा थिएनन् । तर, डिभिजन वन कार्यालय मोरङले भने नेपाल प्रवेश गर्नसक्नेतर्फ सचेत रहन प्रहरीलाई एकसाता अगाडी नै जानकारी भने गराएको प्रहरी निरीक्षक बोगटीले जानकारी दिएका छन् ।
रंगेली क्षेत्रमा अहिले हाइना बारे भएका कतिपय हल्ला निराधार समेत रहेका छन् । केहिदिन अगाडी टकुवामा एक व्यक्तिमाथि आक्रमण गरेको भन्ने कुरा पनि हल्ला मात्रै थियो । प्रहरी निरीक्षक बोगटीका अनुसार सार्वजानिक भएको तस्वीर समेत नेपाली भूमिको नभएर भारतीय भूमिकै हो ।
डिभिजन वन कार्यालय मोरङका वन अधिकृत तथा सुचना अधिकारी राम लखन ठाकुरले हाइना नेपाल प्रवेश गर्ने संभावना बारे चनाखो रहेको बताए । उनले हाइना दिउँसो नदेखिने र राती मात्रै देखिने भएका कारण सव डिभिजन वन कार्यालय रंगेलीले त्यसको बारेमा निगरानी गरिरहेको छ । तर, स्थानीयले खबर गरेपछि शनिबार राती पुग्दा भने कहिं नदेखिएको भन्ने सूचना प्राप्त भएको ठाकुरले जानकारी दिएका छन् ।
ठाकुरले बाँसघारी र धान खेत भएका कारण भारतबाट सहजै प्रवेश गर्नसक्ने संभावना रहेको बताएका छन् । झट्ट हेर्दा कुकुरजस्तो देखिने यो जनाबरको टाउको अग्लो र पुच्छरतिरको भाग क्रमशः होचो हुन्छ । यसलाई कुकुर र बिरालोका परिवारभन्दा बेग्लै ‘हाइनिडी’ परिवारमा राखिएको छ । यसका अगाडिका खुट्टा पछाडिका तुलनामा अग्ला र बलिया हुन्छन् । मांसाहारी यो जनाएर समूहमा बस्ने र धेरै बुद्धिमान मानिन्छन् । हाइनाले सामूहिक शिकार गर्छन् । तर, मोरङ प्रवेश गरेपछि यसले क्षति गरेको भन्ने आधिकारिक कुनैपनि गुनासो अहिलेसम्म वन र प्रहरीसम्म आइपुगेको छैन ।