सोनु साह
विराटनगर । कोशी अस्पताल विराटनगरमा बिमाको सर्भर बारम्बार डाउन हुने समस्याले विरामी र उनीहरूका आफन्तहरू घण्टौँ लाइनमा पर्खिन बाध्य भएका छन् । अस्पतालमा औषधी लिनेदेखि सामान्य चेकजाँच गर्न समेत घण्टौँ समय लाग्ने गरेको सेवाग्राहीको गुनासो छ ।
सेवाग्राहीको भनाइअनुसार बिहान ८ बजेदेखि लाइनमा बसे पनि दिउँसो २ बजेसम्म चेकजाँच गराउन नसक्ने अवस्था आएको छ । “पहिला काम छिटो हुन्थ्यो, अहिले भने एक जनाको चेकजाँचमै दिनभर लाग्छ,” अस्पतालमा उपचारका लागि आएका बद्री दासले बताए । उनका अनुसार सर्भर बिग्रँदा बिरामीहरू भोकभोकै लाइनमा बस्न बाध्य छन्, जसले स्वास्थ्य अवस्थामै असर पार्ने गरेको छ ।
बद्री दास मात्र होइन, अधिकांश बिरामीहरूको समस्या उस्तै रहेको छ । अस्पतालमा आउने सेवाग्राहीहरूले कहिले डाक्टर समयमा उपस्थित नहुने, कहिले औषधी समयमै नपाउने र कहिले चेकजाँचमा हेलचक्र्याइँ हुने गुनासो गर्दै आएका छन् ।
कोशी अस्पताल मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. रुना झाका अनुसार बिमाको सर्भर स्लो हुँदा टिकट काट्न एकजनालाई १० मिनेटभन्दा बढी समय लाग्ने गरेको छ । “अस्पतालका धेरैजसो सेवा सर्भरमै निर्भर छन्, त्यसैले सर्भर सुचारु नभएसम्म काम छिटो हुन सक्दैन,” उनले बताइन् । डा. झाले कोशी मात्र नभई देशभरकै सर्भरमा समस्या आएको बताउँदै यसबारेमा बिमा प्राधिकरणमा पटक–पटक ध्यानाकर्षण गराइएको जानकारी दिइन् । “हामीले बिमा प्राधिकरणमा पत्राचार गरिसकेका छौँ । संघीय अस्पतालका पाँच अस्पतालसहित संयुक्त विज्ञप्ति बुझाएका छौँ,” उनले भनिन् ।
यो समस्या दोहोरिँदै आएको भए पनि बिमा प्राधिकरणले दीर्घकालीन समाधानका लागि ठोस कदम नचलाउँदा विरामीहरू हप्तैपिच्छे समस्या भोग्न बाध्य छन् । दैनिक रूपमा हजारौँ बिरामी सेवा लिन आउने कोशी प्रादेशिक अस्पतालमा सर्भर डाउनको समस्या नहट्दा स्वास्थ्य सेवा प्रभावित हुँदै आएको छ । अस्पताल प्रशासनले केन्द्रबाट सर्भर समस्या समाधान नभएसम्म सेवा प्रवाहमा सुधार सम्भव नभएको बताएको छ ।