विराटनगर टेबल टेनिस क्लबद्वारा आयोजित "दोस्रो सेन्चुरी–स्टेलर अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिता–२०८२" विराटनगर–३ स्थित स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरमा सम्पन्न भएको छ। प्रतियोगितामा कक्षा ८ देखि १० सम्मका जुनियर ब्वाइज/गर्ल्स, कक्षा ७ सम्मका सब-जुनियर ब्वाइज/गर्ल्स तथा फरक क्षमता भएका खेलाडीहरूको स्पेशल टेबल टेनिस इभेन्ट गरी जम्मा पाँच विधामा प्रतिस्पर्धा सञ्चालन गरिएको थियो।
सब–जुनियर गर्ल्स सिङ्गल्सतर्फ बुढानिलकण्ठ स्कुलकी मानसी तामाङ प्रथम, श्री श्री रविशंकर विद्या मन्दिरकी प्राप्ति सेढाइ द्वितीय, डिएभी स्कुलकी आध्या मुरारका र एभरेस्ट स्कुलकी आशना कटवाल संयुक्त तृतीय भएका छन्।
सब–जुनियर ब्वाइज सिङ्गल्सतर्फ बुढानिलकण्ठ स्कुलका आयान श्रेष्ठ प्रथम, डिएभी स्कुलका विवान अग्रवाल द्वितीय, बुढानिलकण्ठ स्कुलका प्रेम राज थापा र बिकेभिएम स्कुलका नयन थापा संयुक्त तृतीय घोषित भए।
जुनियर गर्ल्स सिङ्गल्स विधामा श्री श्री रविशंकर विद्या मन्दिरकी स्वस्तिका चौधरी प्रथम, एभरेस्ट स्कुलकी कृपा पोखरेल द्वितीय, सेन्ट मेरिज स्कुलकी विज्ञता थापा र सोही स्कुलकी आस्था खड्का संयुक्त तृतीय बने।
जुनियर ब्वाइज सिङ्गल्समा लिलीपुट स्कुलका श्रीजल प्याकुरेल प्रथम, बुढानिलकण्ठ स्कुलका रुपेश श्रेष्ठ द्वितीय, लिलीपुट स्कुलका पृथक राज राई र एभरेस्ट स्कुलका सक्षम बस्नेत संयुक्त तृतीय भए।
स्पेशल टेबल टेनिस इभेन्टमा अरनिको स्कुलका अनुज कटवालले श्री श्री रविशंकर स्कुलका काव्य राजवंशीलाइ स्ट्रेट सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरे।
स्टेलर टेबल टेनिस ट्रेनिङ सेन्टरको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजित यो प्रतियोगितामा, विराटनगर–२ स्थित बुढानिलकण्ठ सेकेन्डरी इङ्लिस स्कुललाई टेबल टेनिस खेलको विकास, विस्तार, प्रवर्द्धन तथा राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरका खेलाडी निर्माणमा गरेको योगदानका लागि विराटनगर टेबल टेनिस क्लबका अध्यक्ष बिकेन थापाले कदरपत्र प्रदान गरेका छन्।