क्रिकेटले निराशालाई आशामा बटुल्दै, एनपिएलले देश जोड्दै

<span class='c1'>क्रिकेटले निराशालाई आशामा बटुल्दै,</span> <span class='c2'>एनपिएलले देश जोड्दै</span>

जेनजी आन्दोलनपछि देशभर फैलिएको असन्तोष, राजनीतिक अविश्वास र सामाजिक मनोवैज्ञानिक तनावले नेपाली समाज केही समय यति विखण्डित देखियो कि साझा भावनाको पुनर्निर्माण कठिन जस्तै देखिन्थ्यो। आन्दोलनपछि जनजीवन सामान्यतर्फ फर्किरहेको बेला, समाजमा रहेको निराशा हटाउने र सकारात्मक ऊर्जा जगाउने माध्यमको खोजी सबैले गरिरहेका थिए। यस्तै संवेदनशील अवस्थामा दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) राष्ट्रिय एकता र आशाको नयाँ आधार बनेर उदाएको छ। क्रिकेटले वर्षौँदेखि नेपाली मनमा बसाएको भावनात्मक शक्ति यसपटक देशलाई फेरि एउटै उत्साहमा बाँध्ने माध्यम बनेको छ। अहिले नेपालमा एनपीएल क्रिकेटले नयाँ पर्व आएको महसुश गराएको छ  ।

नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजना हुन लागेको २४ दिन लामो एनपिएल केवल खेलकुद प्रतियोगिता मात्र होइन, राष्ट्रिय मनोबल उठाउने एक प्रकारको ‘सामाजिक उपचार’ बनेको छ। उद्घाटन खेलका टिकट तत्काल बिक्नु, देशभरका दर्शकहरूको उत्साह र विश्वभरिबाट बढ्दै गएको चासोले नेपाल फेरि अन्तर्राष्ट्रिय रूपमा सकारात्मक सन्देश दिन तयार भइसकेको संकेत दिएको छ। विश्वका १३ देशका खेलाडी, अनुभवी प्रशिक्षक, स्टार स्पोर्ट्समार्फत विश्वव्यापी प्रत्यक्ष प्रसारण र अन्तर्राष्ट्रिय स्तरका कमेन्टेटरहरूको सहभागिताले नेपाल अहिले विश्व क्रिकेटको नक्सामा दृढ रूपमा उभिएको देखिन्छ।

एनपिएलले क्षेत्रीय प्रतिनिधित्वका आठ टोलीमार्फत नेपाली विविधताको सुन्दर रूप प्रस्तुत गरेको छ। जनकपुर बोल्डस देखि कर्णाली याक्स, विराटनगर किङ्सदेखि चितवन राइनोजसम्म , यी टोलीले केवल टिम पहिचान मात्र होइन, प्रदेश, भाषा, संस्कृति र स्थानीय गर्वलाई एकै मैदानमा भेला पारेका छन्। राजनीतिक विवादले तातिएको वातावरणमा, कीर्तिपुर क्रिकेट रङ्गशालामा एउटै आवाजमा बज्ने ताली र उत्साहले “हामी अलग होइनौं, सबै नेपाली हौँ” भन्ने अनुभूति दिएको छ। राष्ट्रिय खेलाडी, विदेशी स्टारहरू र स्थानीय प्रतिभाहरू एउटै टीममा खेल्नुले युवाहरूमा नयाँ ऊर्जा भरेको छ। आफ्नो क्षमताले ठूलो मंच पाउन सक्छ भन्ने विश्वास जगाउने काममा एनपिएलले महत्वपूर्ण भूमिका खेलिरहेको छ।

कीर्तिपुर रङ्गशालाको पुनर्निर्माण, फ्लडलाइट जडान र पहिलोपटक राति पहिलोपटक खेल सञ्चालन हुनु मात्र पूर्वाधारको प्रगतिमात्र होइन; यो नेपालले अन्तर्राष्ट्रिय मापदण्डको खेलकुद आयोजनाका लागि आवश्यक परिपक्वता हासिल गर्दैछ भन्ने सूचक हो। दर्शकका लागि निर्माण गरिएका रङ्गिन सिट, सुरक्षा व्यवस्था, टिकट व्यवस्थापन र सरकारी प्राथमिकताले नेपाल अब ठूलो खेलकुद राष्ट्र बन्ने बाटोमा अघि बढिरहेको देखिन्छ।

आर्थिक हिसाबले पनि एनपिएलले स्पोर्ट्स इकोनमीको नयाँ अध्याय सुरु गरिदिएको छ। फ्रेन्चाइज टिमहरूको लगानी, विज्ञापन, प्रसारण अधिकार, ओटीटी आम्दानी र टिकट बिक्री गरी करिब ४० करोड रुपैयाँ आम्दानीको लक्ष्यले नेपालमा खेलकुद अब केवल मनोरञ्जन होइन, प्रभावशाली उद्योग बन्न थालिएको संकेत गर्छ। होटल, रेस्टुरेन्ट, यातायात, मिडिया र स्थानीय व्यवसायमा परेको सकारात्मक प्रभावले एनपिएललाई राष्ट्रिय अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण गतिविधिको रूपमा स्थापित गरेको छ।

यसबाहेक खेलको भाइरस मानिने म्याच फिक्सिङ रोकथाममा क्यान, आईसीसी र नेपाल प्रहरीको समन्वयले नेपाल अन्तर्राष्ट्रिय खेल व्यवस्थापनमा परिपक्व हुँदै गएको छ। सुरक्षा अधिकारी, दैनिक रिपोर्टिङ र निगरानी व्यवस्थाले नेपालमा पारदर्शी र विश्वसनीय प्रतियोगिता सञ्चालन गर्न सकिने विश्वास दिलाएको छ।
आन्दोलनपछिको निराशा, विभाजन र राजनीतिक अस्थिरता बीच एनपिएलले नेपाली समाजमा नयाँ ऊर्जा छरेको छ। नयाँ क्रिकेट मैदानमा उठ्ने उत्साह, विश्वभरका मिडियामा फैलिने नेपालका सकारात्मक तस्बिरहरु र युवाहरूको उज्यालो भविष्यप्रतिको विश्वासलाइ एनपीएलले बढाउछ भन्नेकुरामा ढुक्क हुन सकिन्छ । एनपीएललाई सफलताको शुभकामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्