बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा कर्फ्यू आदेश जारी गरिएको छ। आज दिउँसो साढे १२ बजेदेखि राति ८ बजेसम्मलाई कर्फयू आदेश जारी गरिएको हो।
एमाले नेता महेश बस्नेत आउने सूचनापछि विमानस्थल क्षेत्रमा जेनजी युवाहरूको विरोधका कारण स्थिति तनावपूर्ण बनेपछि प्रशासनले कर्फ्यू जारी गरेको हो। नेकपा एमालेका नेता–कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच बाराको सिमरामा झडप भएको छ ।


झडपका कारण सिमरास्थित विमानस्थलक्षेत्र तनावग्रस्त बनेको छ । जेन–जी प्रदर्शनकारीले विमानस्थलको गेट भत्काइदिएका छन् । स्थिति तनावग्रस्त बनेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितले जानकारी दिए ।

नेकपा एमालेले बाराको परवानीपुरमा बुधबार मधेश प्रदेशस्तरीय युवा भेला आयोजना गरेको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा एमाले महासचिव शंकर पोखरेल, एमाले पोलिट्ब्युरो सदस्य तथा युवा संघ इञ्चार्ज महेश बस्नेत सिमरा आउँदै थिए ।