काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले पछिल्लो तीन महिनाको अवधिमा करिब करिब १० प्रतिशतको हाराहारीमा कर एवम राजस्व वृद्धि भएको बताएका छन् ।
विहीबार काठमाडौंमा आयोजित गोरखापत्र डिस्कोर्समा उनले आर्थिक गतिविधि लयमा फर्किएको भन्दै असोज, कार्तिक, मंसिर र पुषको आजको अवधिसम्म आइपुग्दा करिब १० प्रतिशतको हाराहारीमा कर, राजस्व वृद्धि भएको बताए । उनले भने, ‘अर्थतन्त्रमा आर्थिक गतिविधिहरु चलायमान छन् कि छैनन्, उत्पादनका कामहरु बढेका छन् कि छैनन्, आम उपभोक्ताको मनोबल बढेको छ कि छैन भन्ने सूचकहरु मूलभूत रुपमा सरकारको कर र राजस्व संकलन साथै भन्सारमा भइरहेको संकलनले संकेत गर्छ । यि सबै हेर्दा गएको तीन महिनाको अवधिमा भदौ महिनामा अलि कम भएपनि असोज, कार्तिक, मंसिर र पुषको आजको अवधिसम्म आइपुग्दा करिब करिब १० प्रतिशतको हाराहारीमा कर, राजस्व वृद्धि भएको देखिन्छ ।’
यस्तै, उनले भदौ २३ र २४ गतेको आन्दोलनपछि नेपाल अनिश्चितताको भूमरीमा फस्यो अर्थतन्त्र ध्वस्त भयो भन्ने अवस्थाबाट ९० दिनको अवधिमा निकै छिटो गतिले पुनःउत्थान, पुननिर्माण र आशा जगाउने बाटोमा अगाडि बढेको पनि बताए । उनले भने, ‘भदौ २३ र २४ गतेको अवस्था पार गरेर आजसम्म आइपुग्दा रिकभरीको शान्त तरिकाले बहस गर्ने अवस्थामा आइपुगेका छौं । यो नेपालीहरुको कुनैपनि संकटबाट तत्काल मुक्त हुने सामथ्र्यको एउटा प्रतिक हो । यस्तो प्रतिकले के पनि संकेत गर्छ भने हाम्रा आर्थिक गतिविधिहरु चलायमान छन् । दुई घटनापछि एक हप्तामा नेपालीहरुले अनुमानमा अनिश्चितताको भूमरीमा फस्यो, अर्थतन्त्र ध्वस्त हुन्छ र नागरिकहरु बिचल्लीमा हुन्छ भन्ने थियो तर ९० दिनको अवधिमा निकै छिटो गतिले पुनःउत्थान, पुनःनिर्माण र आशा जगाउने बाटोमा अगाडि बढेका छौ ।’
पर्यटकको संख्या पनि बढ्दै गएको पनि उनको भनाई छ । सोही कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले सरकारले ठूलो खर्च गर्न आँट गर्नसक्ने हो भने बैंकिङ् क्षेत्रबाट सहयोग गर्न तयार रहेको बताएका छन् । उनले भने, ‘सरकारले ठूलो खर्च गर्न आँट गरोस । बैंकिङ् क्षेत्रबाट हामीले गर्नुपर्ने सहयोग गर्छौ भनेर भनिरहेका छौ । उर्जा क्षेत्र, यातायातमा पनि खर्च गर्न कोशिस गरौं । यातायात पनि यो भन्दा धेरै राम्रो बनाउन सकिन्छ । यसमा धेरै सम्भावना छ । त्यसको लागि राष्ट्र बैंकबाट पनि सहजीकरण गर्न तयार छौं ।’ उनले सबै व्यवसायीहरुलाई उच्च मनोबल लिएर काम गर्न आग्रह गर्दै यो भन्दा प्रतिकूल अवस्थामा पनि देशहरु चलिरहेको पनि बताए ।