विराटनगर । यही पुस ९ गते बुधबारदेखि विराटनगरमा ७ दिने श्रीमद् भागवत कथा वाचन कार्यक्रम सुरु हुने भएको छ। इस्कोन विराटनगरको आयोजनामा पुस १५ गते मंगलबारसम्म कथा वाचन सञ्चालन हुनेछ। प्रसिद्ध कथा वाचक लाल गोविन्द दास प्रभुजीले भागवत कथा वाचन गर्नुहुनेछ।
विराटनगर महानगरपालिका वडा नं. ९ रेम्बो मोडस्थित सिटी प्यालेस होटेल एण्ड रिसोर्टमा प्रत्येक दिन दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म कथा वाचन हुने आयोजकले जनाएको छ। अघिल्लो वर्ष पनि इस्कोन विराटनगरले वडा नं. २ स्थित श्याम मन्दिरमा भागवत कथा आयोजना गरेको थियो, जहाँ लाल गोविन्द दास प्रभुजीले नै सात दिनसम्म कथा वाचन गर्नुभएको थियो।
विराटनगरवासीको मागका आधारमा लगातार दोस्रो वर्ष पुनः भागवत कथा आयोजना गरिएको इस्कोन विराटनगरका सचिव भानुभक्त जोशीले जानकारी दिए। भागवत सप्ताह अन्तर्गत भीष्मदेवको स्तुति, भागवतको महिमा, ब्रह्माण्डको उत्पत्ति, भगवान् विष्णुको दशावतार, बराह अवतार, ध्रुव चरित्र, राजा भरत र अजामिल कथा, राम कथा, गजेन्द्र मोक्षलगायत विविध प्रसंगको व्याख्या गरिनेछ।
कथाको पाँचौँ दिन श्रीकृष्ण जन्मोत्सवमा आधारित कथा वाचन हुनेछ भने छैटौँ र सातौँ दिन भगवान् श्रीकृष्णको सम्पूर्ण चरित्रमाथि प्रकाश पारिनेछ। कथा वाचन सुरु हुने पहिलो दिन पुस ९ गते बिहान ८ बजे विराटनगरको जलजला रोडस्थित इस्कोन कार्यालयबाट कलश यात्रा निकालिनेछ। देवकोटा चौक, रामजानकी मन्दिर, पंचमुखी हनुमान मन्दिर हुँदै सिटी प्यालेस होटेल एण्ड रिसोर्टमा पुगेर कलश यात्राको समापन हुनेछ।
कथा वाचनको अन्तिम दिन पुस १५ गते सिटी प्यालेस होटेल एण्ड रिसोर्टमै यज्ञको आयोजना गरिनेछ, जसका लागि काठमाडौँबाट दुई जना पुजारी आउने सचिव जोशीले बताए। प्रत्येक दिन करिब एक हजार भक्तजनले कथा श्रवण गर्न सक्ने व्यवस्था मिलाइएको छ।
कथा श्रवणपछि भक्तजनलाई प्रसाद ग्रहण गराएर मात्र घर फर्काउने व्यवस्था गरिएको छ। तीनै तहका सरकारका विशिष्ट व्यक्तित्व, उद्योगी, व्यवसायी, राजनीतिकर्मी तथा सामाजिक र धार्मिक क्षेत्रका व्यक्तिहरूलाई कार्यक्रममा सहभागिताका लागि निम्तो पठाइएको आयोजकले जनाएको छ।