विराटनगर । किसानले धान बाली भित्र्याएपछि गहुँ–मकै लगाएका छन् । यसबेला किसानलाई चाहिएको छ, यूरिया मल । अघिल्ला वर्षहरुमा जस्तो अहिले यूरिया र डिएपी भने कोशी प्रदेशलाई आवश्यक प्रशस्त रहेको छ । कृषि सामाग्री कम्पनी लिमिटेड कोशी प्रदेश कार्यालयका निमित्त प्रमुख कमल पोखरेलका अनुसार कार्यालयले प्राप्त गर्ने कोटा अनुसारको मल आउने र किसानसम्म पुग्ने काम भइरहेको छ ।
पछिल्लो एक महिनाको अवधीमा कोशी प्रदेशमा १६ हजार ६५३ मेट्रिकटन यूरियामल आइसकेको र त्यो स्थानीय तहसम्म पुगेर वितरण भइरहेको छ । नेपाल सरकार संघीय कृषि सामाग्री कम्पनीले खरिद गरेकोमध्ये २० दशमल ५६ प्रतिशत यरियामल कोशी प्रदेशका लागि आउने गरेको निमित्त प्रमुख पोखरेलले जानकारी दिएका छन् । विगत एक महिनाको अवधिमा कोशी प्रदेशमा ४ हजार ७०२ मेट्रिकटन डिएपी बिक्री गरिएको जनाइएको छ ।
कार्यालयमा सम्झौता अनुसार विभिन्न कम्पनीमार्फत आएको युरियामल विगत एक महिनामा तीन पटक मल विक्रेता डिलरहरुलाई बिक्री वितरण गरि जानकारी दिइएको छ । पुसभरमै थप युरियामल आउने तयारीमा रहेका कार्यालय प्रमुख पोखरेलले जानकारी दिएका छन् । कोशी प्रदेशका १४ जिल्लामध्ये सोलुखम्बु जिल्ला बाहेक सवै जिल्लाका डिलरहरुले सो कार्यालयबाट मल लैजाने गरेका छन ।
गतवर्षको मंसिर देखि पुष महिनासम्म ५ हजार ८०५ मेट्रिकटन मात्र यूरियामल प्राप्त भएको थियो । यसपटक गतवर्षको भन्दा तिन गुणा बढी मल प्राप्त भएको छ ।