विराटनगर । कन्फेडेरेसन अफ नेपाली इन्डस्ट्रिज यंग इन्टरप्रेन्योर्स फोरम (CNIYEF) कोशी र विराटनगरस्थित विराट स्पोर्ट्स जोन बीच समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। सम्झौताअनुसार CNIYEF कोशीका सदस्यहरूले विराट स्पोर्ट्स जोनमा उपलब्ध विभिन्न खेलकुद गतिविधिमा विशेष छुट प्राप्त गर्नेछन् भने सिएनआईवाईएफ कोशीले आफ्ना सदस्यहरू तथा सामाजिक सञ्जालमार्फत विराट स्पोर्ट्स जोनको प्रवर्द्धन गर्नेछ।
सम्झौतापछि सिएनआईवाईएफ कोशीले आफ्ना सदस्यहरूबीच प्रतिस्पर्धात्मक भावना र उत्साह बढाउने उद्देश्यले ई–कार्टिङ प्रतियोगिता आयोजना गरेको थियो। प्रतियोगितामा मुदित गोल्छा प्रथम, मयंक शाह प्रथम उपविजेता र उत्सव गोयल द्वितीय उपविजेता बने।

CNIYEF कोशीका सदस्य तथा विराट स्पोर्ट्स जोनका बोर्ड सदस्य धर्खान कतेल ले आठ महिनाको योजनापछि एक महिनाअघि सेवा सुरु गरिएको जानकारी दिँदै यो केन्द्र युवाहरूको खेलकुद क्षमता विकासका लागि प्रभावकारी प्लेटफर्म बन्ने विश्वास व्यक्त गरे। विराट स्पोर्ट्स जोनका प्रबन्ध निर्देशक तथा बोर्ड अध्यक्ष हरि बजगाईं ले युवालाई मोबाइल फोनको अत्यधिक प्रयोगबाट टाढा राखी सक्रिय र स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको बताए। आर्थिक अनिश्चितताको समयमा जोखिम मोलेर विभिन्न खेलका प्रशिक्षक नियुक्त गर्दै व्यवसाय सुरु गरिएको उनले उल्लेख गरे।
सिएनआईवाईएफ कोशीका अध्यक्ष सुसन प्रधान ले उद्यमीहरूका लागि मानसिक सन्तुलन र विश्राम आवश्यक रहेको बताउँदै विराट स्पोर्ट्स जोनजस्ता खेलकुद केन्द्रहरूले व्यवसायिक जीवनसँगै स्वस्थ मनोरञ्जनको अवसर प्रदान गर्ने बताए। उनका अनुसार विराट स्पोर्ट्स जोन कोशी प्रदेशमै पहिलो पटक ई–कार्टिङ, फुटसल, क्रिक्सल, स्केटिङ तथा चाँडै सुरु हुन लागेको पिकल बल सुविधा एकै स्थानमा उपलब्ध गराउने आधुनिक खेलकुद केन्द्र हो।