विराटनगर । नेपाल स्काउट, प्रदेश युवा परिषद्को आयोजना तथा कोशी प्रदेश स्काउट कार्यालयको संयोजनमा सञ्चालित प्रादेशिक युवा नेतृत्व तालिम कोर्ष मंसिर १० देखि १२ गतेसम्म शिवसताक्षी नगरपालिका–स्थित वाटर किङ्डम पार्क एण्ड रिसोर्टमा सफलतापूर्वक सम्पन्न भएको छ।
तीन दिनसम्म सञ्चालन भएको तालिममा कोशी प्रदेशका ४२ जना युवा रोभर र रेन्जर तथा स्काउटरहरूको सहभागिता रहेको थियो। तालिममार्फत युवाहरूको नेतृत्व क्षमता विकास, संगठन व्यवस्थापन, सामाजिक उत्तरदायित्व र व्यवहारिक सीपसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको आयोजकले जनाएको छ।

तालिममा नेपाल स्काउटका युवा प्रशिक्षकहरूका साथै अतिथि प्रशिक्षकका रूपमा राष्ट्रिय परिषद सदस्य रवि खनाल, प्रदेश सदस्यता वृद्धि आयुक्त सन्तोष घिमिरे, युवा व्यवसायी सञ्जयजङ्ग थापा, स्थानीय प्रमुख आयुक्त कमल गाउँपालिकाका गुणराज गिरी तथा स्थानीय प्रमुख आयुक्त रङ्गेली नगरपालिकाका मोतीराम ढुंगानाले प्रशिक्षण प्रदान गर्नुभएको थियो।
तालिमको दोस्रो दिन सहभागीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। तेस्रो दिन प्यानल छलफल सञ्चालन गरिनुका साथै कोशी प्रदेश सभा सदस्य माननीय छविलाल चुडाल, कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी तथा प्रदेश प्रमुख आयुक्त हेमन्त भण्डारीसँग नेतृत्व, युवाको भूमिका र सामाजिक योगदानका विषयमा संवाद तथा छलफल गरिएको थियो।

तालिमको समापन समारोह कोशी प्रदेश सभा सदस्य माननीय राधाकृष्ण खनालको प्रमुख आतिथ्यता तथा प्रदेश युवा परिषद् अध्यक्षकिरण बुढाथोकीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शिवसताक्षी नगरपालिकाका उपप्रमुख नरमाया कार्की, प्रदेश कार्यसमिति पदाधिकारी, स्थानीय स्काउट पदाधिकारी तथा स्काउट लिडरहरूको उल्लेख्य उपस्थिति रहेको थियो।