विराटनगर । विराटनगर प्याब्सनले यस वर्षको एसइइ परीक्षामा ४ जिपिए हासिल गर्ने विराटनगरका ११ जना विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ। प्याब्सन विराटनगरको दोस्रो महानगर परिषद् भेलाका अवसरमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गरिएको हो।
४ जिपिए ल्याउने विद्यार्थीहरूमध्ये ६ जना बीकेभीएम स्कुलका रहेका छन्। उनीहरूमा मौलिक ढकाल, अभियान राजवंशी, गौरव झा, नैतिक कुमार पोद्धार, प्रिन्सी साह र स्नेहल राज साह रहेका छन्। त्यसैगरी एभरेष्ट स्कुलबाट प्रेम खतिवडा र कृति गोयल, सगरमाथा स्कुलबाट सोभित न्यौपाने, जेम्स स्कुलबाट श्रीजी पोख्रेल तथा कान्तिपुर स्कुलबाट आयुषा कार्की रहेका छन्। उक्त कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला र प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठले विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेका थिए।



त्यसै अवसरमा प्याब्सन विराटनगरले सामाजिक अभियन्ता पारुल क्षेत्री र समाजसेवी करिम अन्सारीलाई पनि सम्मान गरेको छ। विराटनगर महानगरपालिकालाई हरित नगरी बनाउन योगदान पुर्याएको भन्दै पारुल क्षेत्री र मलामीका लागि निःशुल्क बस सेवा उपलब्ध गराउँदै आएका करिम अन्सारीलाई नगदसहित सम्मान गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।



यस्तै, लामो समयदेखि विद्यालयको सवारी साधन सञ्चालन गर्दै आएका चालक तथा सहचालकलाई पनि कदर गरिएको छ। झण्डै तीन दशकदेखि विद्यालय सवारी चलाउँदै आएका चालक इन्द्रबहादुर श्रेष्ठ र सहचालक भीमप्रसाद तिवारीलाई महानगर प्रमुख नागेश कोइरालाले कदरपत्र र दोसल्ला ओढाएर नगदसहित सम्मान गरे। कार्यक्रममा बोल्दै महानगर प्रमुख कोइरालाले गुणस्तरीय शिक्षामा निजी विद्यालयहरूको भूमिका उल्लेखनीय रहेको बताए।
प्याब्सन विराटनगरका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेल, शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख शालिग्राम दाहाललगायत निजी विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो।