विराटनगर । काठमाडौँ विश्वविद्यालयको साझेदारी कार्यक्रमअन्तर्गत विराटनगरस्थित एस्पायर कलेजमा आगामी शैक्षिक सत्रदेखि ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स (BHI) कार्यक्रम अध्यापन हुने भएको छ। उक्त कार्यक्रम सञ्चालनका लागि एस्पायर कलेजका अध्यक्ष विकास अधिकारी र काठमाडौँ विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङका डिन प्रोफेसर डा. मनिष पोखरेलबीच शैक्षिक सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ। समझदारीसँगै BHI कार्यक्रम सञ्चालनको औपचारिक प्रक्रिया पूरा भएको कलेजले जनाएको छ।
स्वास्थ्य सेवा र सूचना प्रविधिको संयोजनका रूपमा विकसित हेल्थ इन्फोर्म्याटिक्स कार्यक्रमले स्वास्थ्य डाटा व्यवस्थापन, अस्पताल सूचना प्रणाली, ई–हेल्थ, टेलिमेडिसिन, मेडिकल कोडिङ तथा हेल्थ रिसर्चलगायतका विषय समेट्नेछ। डिजिटल स्वास्थ्य प्रणालीको बढ्दो प्रयोगसँगै दक्ष जनशक्तिको आवश्यकता पूरा गर्ने उद्देश्यले कार्यक्रम सुरु गर्न लागिएको कलेजको भनाइ छ।
कलेजका अध्यक्ष विकास अधिकारीले हेल्थ इन्फोर्म्याटिक्स वर्तमान र भविष्य दुवैका लागि अत्यन्त सम्भावनायुक्त विषय भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्र तीव्र रूपमा डिजिटल बन्दै गएको अवस्थामा काठमाडौँ विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङसँगको सहकार्यले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको शिक्षा प्रदान गर्न सहयोग पुग्ने बताए। उनका अनुसार आगामी शैक्षिक सत्रदेखि विद्यार्थीलाई व्यवहारिक तथा सीपमूलक शिक्षा दिने लक्ष्य राखिएको छ।कलेजका अनुसार काठमाडौँ विश्वविद्यालयको पाठ्यक्रम र शैक्षिक मापदण्डअनुसार कार्यक्रम सञ्चालन गरिनेछ। यस कार्यक्रमबाट स्नातक हुने विद्यार्थीहरूले स्वदेश तथा विदेशका अस्पताल, स्वास्थ्य संस्था, अनुसन्धान संस्था तथा स्वास्थ्यसम्बन्धी सूचना प्रविधि क्षेत्रमा रोजगारीका अवसर पाउने अपेक्षा गरिएको छ। हाल एस्पायर कलेजमा बिआईटी (BIT), बिपिएच (BPH) र बि.टेक.एड.आई.टी (B.Tech.Ed.IT) कार्यक्रमहरू सञ्चालनमा रहेका छन्।