विराटनगर । हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण आज दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ।
कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । यता कोशी प्रदेशको राजधानी विराटनगरमा गत शनिबारदेखी घाम देखिएको छैन । विराटनगरमा विहानैदेखी बाक्लो हुस्सु र चिसो सिरौटो लागेसँगै जनजिवन प्रभावित बन्दै आएको छ ।
आज राति तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ । देशका तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभावले बिहानको समयमा दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।