विराटनगर । निर्वाचन खर्च विवरण नबुझाउँदा कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीसमेत रहेका शेरधन राई निर्वाचन आयोगको चुनाव उठ्न नपाउने सूचीमापरेका छन्। प्रतिनिधिसभा निर्वाचन २०७९ मा भोजपुर–१ बाट उम्मेदवार बनेका राईले तोकिएको समयभित्र खर्च विवरण आयोगमा बुझाउन र मतदातामाझ सार्वजनिक गर्न नसकेको आयोगले जनाएको छ।
उक्त निर्वाचनमा राईलाई माओवादी केन्द्रका उम्मेदवार सुदन किरातीले पराजित गरेका थिए। तर खर्च विवरण नबुझाउने मामिलामा दुवै उम्मेदवार एउटै सूचीमा परेका छन्। आयोगले उनीहरूलाई १५/१५ हजार रुपैयाँ जरिवानासमेत गरेको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार निर्वाचन खर्च विवरण नबुझाउने वा बुझाएर पनि सार्वजनिक नगर्ने उम्मेदवारहरूलाई आयोगले ‘ब्ल्याक लिस्ट’ मा राख्दै आएको छ।