धोती र टोपी जुधाउनेहरु विखण्डनकारी हुन्, हामी एकताको पक्षमा छौं : राजानन्द माण्डव्य

<span class='c1'>धोती र टोपी जुधाउनेहरु विखण्डनकारी हुन्, हामी</span> <span class='c2'>एकताको पक्षमा छौं : राजानन्द माण्डव्य</span>

काठमाडौं । अंग्रेजी नयाँ वर्षको दिन अर्थात् जनवरी १ मा ‘राष्ट्रिय पोशाक दिवस’ मनाउन थालिएपछि यसको आवश्यकता र औचित्यमाथि प्रश्न उठिरहेका छन् । तर यस अभियानका अभियन्ता तथा राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले यो दिवस कुनै औपचारिक बिदा वा केवल दिवसकै रूपमा मनाउन थालिएको नभई, नेपाली पहिचान, भाषा, संस्कृति र पोशाक जोगाउने जागरण अभियानको हिस्सा भएको स्पष्ट पारेका छन् ।

दौरा–सुरुवाल र टोपी विश्वमै नेपालमा मात्र प्रयोग हुने विशिष्ट पोशाक भएको र संयुक्त राष्ट्रसंघसम्म नेपालले यसको प्रतिनिधित्व गरिरहेको उनले उल्लेख गरे । माण्डव्यका अनुसार नेपाली नयाँ वर्ष त बैशाख १ गते भव्य रूपमा मनाइँदै आएको छ र विक्रम संवत् मनाउने विश्वको एकमात्र देश नेपाल हो । तर जनवरी १ लाई राष्ट्रिय पोशाक दिवसका रूपमा रोज्नुको कारण विश्वभर छरिएर बसेका नेपाली समुदायसँग जोडिएको छ ।

उनका अनुसार राष्ट्रिय पोशाक दिवस केवल दौरा–सुरुवाल र टोपीमा सीमित छैन् । ‘नेपाल बहुजातीय, बहुसांस्कृतिक देश हो । गुरुङ, मगर, राई, लिम्बू, मधेसी समुदायदेखि पहाड र हिमालका सबै जातजातिका पोशाक नेपाली पोशाक हुन्,’ उनले स्पष्ट पारे । तर ती सबैमध्ये नेपाललाई औपचारिक रूपमा विश्वमा चिनाउने साझा पोशाकका रूपमा दौरा–सुरुवाल र टोपीलाई स्थापित गर्नुपर्ने उनको धारणा छ ।

माण्डव्यले पछिल्लो समय पोशाकलाई लिएर भइरहेको विवादप्रति पनि असन्तुष्टि जनाएका छन् । विशेषगरी मधेसमा ‘धोती दिवस’ मनाइँदै आएको सन्दर्भमा उनले धोती र टोपीलाई एक–अर्काविरुद्ध उभ्याउनु गलत भएको बताए । धोती मधेसको मात्र नभइ, हाम्रो वैदिक सनातनी साझा पोशाक भएको उनको जिकीर छ । जन्मदेखि मृत्युसम्मका संस्कारमा धोतीको महत्व भएको कुरा स्मरण गर्दै उनले धोतीलाई हेयको दृष्टिले हेर्नु जघन्य अपराध भएको बताए ।

पहाडी क्षेत्रमा पनि टोपी दिवसलाई केवल फेसन र सामाजिक सञ्जालमा ‘लाइक’ र ‘भ्यु’ बटुल्ने माध्यम बनाइएको भन्दै उनले त्यसको आलोचना गरेका छन् । जिन्सको पाइन्ट लगाएर माथि टोपी मात्रै लगाउनु पोशाक संरक्षण होइन् । गुन्यू–चोली, चौबन्दी चोली, सिरबन्दी जस्ता महिलाका परम्परागत पोशाक हराउँदै गएको भन्दै उनले त्यसप्रति चिन्ता समेत व्यक्त गरेका छन् ।

उनले राजनीतिज्ञहरूको पहिरनमा आएको परिवर्तनलाई सकारात्मक संकेतका रूपमा समेत व्याख्या गरे । ‘पहिले जिन्स लगाएर आफूलाई क्रान्तिकारी ठान्ने प्रवृत्ति थियो । अहिले शीर्ष नेताहरू पनि दौरा–सुरुवाल लगाएर औपचारिक कार्यक्रममा देखिन थालेका छन । यसलेराष्ट्रिय पोशाकको गम्भीरता देखाउँछ,’ माडव्यले भने । देशलाई प्रतिनिधित्व गर्ने एउटा पोशाक चाहिन्छ ।

नेपाल जातीय, भाषिक र सांस्कृतिक विविधताले भरिएको मुलुक हो । यस्ता विविधताबीच ‘दौरा–सुरुवाल र गुन्यू–चोलीलाई नै राष्ट्रिय पोशाक मान्नुपर्छ’ भन्ने बहस उठ्नु स्वाभाविक भएपनि, यसको मर्म एकता र साझा पहिचानसँग जोडिएको माण्डव्यको तर्क छ । माण्डव्यका अनुसार राष्ट्रिय पोशाक भन्नाले सबै जातजातिको पोशाकलाई विस्थापित गर्ने उद्देश्य होइन् । ‘हामी सबैका पोशाक हाम्रो गर्व हुन् । तर ती सबै नेपाली पोशाक मध्ये नेपाललाई औपचारिक रूपमा प्रतिनिधित्व गर्ने एउटा साझा पोशाक चाहिन्छ,’उनी भन्छन् । उनका अनुसार नेपालका १४० भन्दा बढी जातजातिमध्ये करिब ७० प्रतिशतभन्दा बढी समुदायका पुरुषहरूको परम्परागत पोशाकको मूल आधार दौरा नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्