किन आफ्नै क्षेत्रमा कमजोर हुँदै ओली,नयाँ अनुहार खोज्दै झापा

<span class='c1'>किन आफ्नै क्षेत्रमा कमजोर हुँदै</span> <span class='c2'>ओली,नयाँ अनुहार खोज्दै झापा</span>

सोनु कुमार साह
विराटनगर। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको चुनावी पकड आफ्नै निर्वाचन क्षेत्रमा कमजोर बन्दै गएको देखिएको छ। पछिल्ला दुई प्रतिनिधिसभा निर्वाचनको मत परिणामले पनि ओलीको लोकप्रियता क्रमशः घट्दो क्रममा रहेको संकेत गर्छ।

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नं. ५ बाट उम्मेदवार बनेका ओलीले ५७ हजार १३१ मत ल्याएर सहज जित हात पारेका थिए। तर २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट पुनः उम्मेदवार बनेका ओलीको मत घटेर ५२ हजार ३१९ मा सीमित रह्यो। पाँच वर्षको अन्तरालमा उनको मत ४ हजार ८२० ले घट्नु राजनीतिक वृत्तमा चासोको विषय बनेको छ।

जेन्जी आन्दोलनपछि सरकार ढल्दै चार वर्ष नपुग्दै पुनः प्रतिनिधिसभा निर्वाचनको वातावरण बनेको छ। ओलीले फेरि पनि झापा–५ बाटै चुनाव लड्ने घोषणा गरिसकेका छन्। यसैबीच, नयाँ राजनीतिक शक्तिका रूपमा उदाउँदै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले समेत सोही क्षेत्रबाट उम्मेदवारी दिन सक्ने चर्चा चलिरहेको छ।

ओली पटक–पटक प्रधानमन्त्री बने पनि झापामा अपेक्षित विकास र परिवर्तनको अनुभूति नभएको भन्दै स्थानीयवासी तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन्। विकास, रोजगारी र सुशासनको सवालमा जनताको अपेक्षा पूरा हुन नसकेको गुनासो व्यापक रूपमा देखिन्छ।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार यदि बलियो युवा वा नयाँ अनुहार प्रतिस्पर्धामा नआए ओलीलाई फाइदा पुग्न सक्छ। तर यसपटक मतदाताहरू पहिलेभन्दा बढी सचेत र आलोचनात्मक बनेको उनीहरूको बुझाइ छ। “अब हामी सोचेर भोट दिन्छौं,” भन्ने आवाज स्थानीयस्तरमा सुनिन थालेको छ।

जेन्जी आन्दोलनको मुख्य कारण सरकारको कामप्रति जनअसन्तुष्टि रहेको बताइन्छ। दिन दिनै बेरोजगारी, भ्रष्टाचार र जनताको जनभावना सरकारलृ नबुझिएको कारण आन्दोलन चर्किएको थियो। आन्दोलनका बेला केपी शर्मा ओली नै प्रधानमन्त्री थिए, जसको प्रत्यक्ष राजनीतिक प्रभाव अहिले देखिन थालेको विश्लेषण गरिँदै छ।

हाल सामाजिक सञ्जालमा “नो ओली, ओन्ली वालेन” भन्ने ट्रेन्ड चल्न थालेको छ, जसले नयाँ शक्तिप्रति आकर्षण बढ्दो क्रममा रहेको संकेत गर्छ। यद्यपि राजनीतिक विश्लेषकहरू सामाजिक सञ्जालको लोकप्रियता मात्र निर्वाचन जितको आधार नहुने बताउँछन्। अन्ततः निर्णायक तत्व भनेको मतदान र मतपरिणाम नै हो।

समग्रमा, विगतका निर्वाचन नतिजा र पछिल्ला राजनीतिक घटनाक्रमलाई हेर्दा केपी शर्मा ओली आफ्नै निर्वाचन क्षेत्रमा क्रमशः अलोकप्रिय बन्दै गएको र जनमत गुमाउँदै गएको संकेत देखिन्छ। तर अन्तिम निष्कर्ष भने आगामी निर्वाचनको नतिजाले नै गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्