विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयले १२ देशका प्राज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता र विद्यार्थीको सहभागितामा दुई दिने अन्तराष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । आगामी माघ २९ र फागुन १ गते पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय कार्यालय परिसरमा सम्मेलनको तयारी थालिएको हो ।
यो अन्तराष्ट्रिय सम्मेलनको नाम पियूआइकन राखिएको छ । यो विश्वविद्यालयको अन्तराष्ट्रिय सम्मेलन श्रृंखलाको आफ्नै संकेत चिन्ह रहेको आयोजक समितिका संयोजक प्रा.डा.भोलानाथ शर्मा घिमिरेले जानकारी दिनुभयो । पूर्वाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग संकायका डिन तथा सम्मेलन आयोजक समितिका संयोजक प्रा.डा. घिमिरेका अनुसार नेपाल, भारत, नर्वे, युक्रेन, थाइल्याण्ड, साउन अफ्रिका, बंगलादेश, अमेरिकाबाट सहभागी हुनेछन् । तीनसय बढी सहभागी हुने सम्मेलनमा ‘इनभिजिनिङ द हिमालयन फ्यूचर ः ए पाथवे टु सस्टेनबिलिटि एण्ड डिभ्लोमेन्ट’ विषयमा १२ वटा थिमेटिक सेसन चल्ने भएका छन् । जसमा १५० जनाले आफ्नो अध्ययन र अनुसन्धान पत्रहरु प्रस्तुत गर्ने कार्यक्रम रहेको घिमिरेले जानकारी दिनुभयो ।
सम्मेलनमा हिमालयन फिचर्सको दिगोलक्ष्य र विकास लक्षित नीति, विशेष आवश्यकता, जलवायु परिवर्तन र त्यसले पारेको प्रभावका विषयमा छलफल हुने जानकारी दिइएको छ । सम्मेलनले विश्वविद्यालयलाई अन्तराष्ट्रिय जगतका विश्वविद्यालयसँग नजिक सम्बन्ध बनाउनका लागि सहयोग गर्ने अपेक्षा राखिएको छ । सम्मेलन सम्पन्न गर्नका लागि १३ सदस्यीय समिति गठन गरिएको जानकारी दिइएको छ ।