विराटनगर माघ १८ , कोशी प्रदेश गल्फ संघको आयोजनामा तथा चिभास रिगलको साझेदारीमा सम्पन्न ‘चिभास इस्टर्न गल्फ टुर्नामेन्ट–२०२६’ को ग्रसतर्फको उपाधि जितेन्द्र राईले जितेका छन् ।
शुक्रबार र शनिबार धरानस्थित गल्फ कोर्समा सम्पन्न प्रतियोगितामा राईले उत्कृष्ट प्रदर्शन गर्दै ग्रसतर्फको उपाधि हात पारेका हुन् भने पदम हाङ लिम्बू ग्रसतर्फ उपविजेता बने ।
नेटतर्फको स्पर्धामा सोम गुरुङले पहिलो स्थान हासिल गर्दा भुवन घिमिरे दोस्रो र प्रतापजंग थापा तेस्रो स्थानमा रहे ।
महिलातर्फ ग्रसमा सम्झना खत्री र नेटतर्फ जान्वी गुरुङ विजेता बनेका छन् । नेटतर्फकै दोस्रो स्थानमा बिना सापकोटा रहिन् ।
सिनियर स्पर्धातर्फ गणेश जिमीले उपाधि जित्दा तुलसीराम लिम्बू दोस्रो स्थानमा रहे ।
ह्याण्डिक्याप स्पर्धाअन्तर्गत १–८ होलतर्फ सिद्धान्त सापकोटा प्रथम, अशोक सिंह दोस्रो र श्याम लिम्बू तेस्रो भए । त्यस्तै, ९–१६ होलतर्फ कृष्ण पुनले पहिलो स्थान हात पार्दा हिरण प्रधान दोस्रो र श्याम तामाङ तेस्रो स्थानमा चित्त बुझाए ।
विशेष विधातर्फ लङ्गेस्ट ड्राइभ प्रदीप सारडाले, नियरेस्ट टु द पिन दिपेन्द्र राईले, स्ट्रेट टु द लाइन दिपक मगरले र मोस्ट बर्डिज राम तामाङले जितेको जानकारी कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले दिएका छन् ।
प्रतियोगिताका विजेताहरूलाई संघका अध्यक्ष प्याकुरेल, चिभास रिगलका कन्ट्री म्यानेजर सौरभ भट्टराईलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगितामा कोशी प्रदेश, काठमाडौँ, पोखरा सहित युके, सिंगापुर र युएईबाट गरी १३० भन्दा बढी एमेच्योर गल्फ खेलाडीहरूको सहभागिता रहेको थियो ।