विराटनगरका उद्योगीको आरोप-खुल्ला सीमाबाट तस्करी बढ्यो

<span class='c1'>विराटनगरका उद्योगीको आरोप-खुल्ला</span> <span class='c2'>सीमाबाट तस्करी बढ्यो</span>

विराटनगर । निर्वाचनको समयमा खुल्ला सीमानाकाबाट हुने चोरीपैठारी र निकासी नियन्त्रणमा सुरक्षा संयन्त्र गम्भीर नभएको विराटनगरका उद्योगीहरुले आरोप लगाएका छन् । खुल्ला सीमा क्षेत्रबाट चोरी निकासी र पैठारी बढ्दो क्रममा रहेको भन्दै उनीहरुले सशस्त्र प्रहरी बल र नेपाल प्रहरी, यसको नियन्त्रणमा कमजोर सुरक्षा निगरानी गरिरहेको आरोप लगाएका हुन् ।

उद्योगीहरुका अनुसार अमेरिकी डलरको मूल्य बृद्धि हुँदा नेपालमा उत्पादन हुने वस्तुमा स्वभाविक मूल्य बृद्धि भइरहेको थियो । त्यसमाथि भारतको नयाँ बजेटले वस्तु तथा सेवा कर (जीएसटी) मा थप लचकता अपनाएको छ । भारतको बजेटले उसको देशमा उत्पादन हुने दैनिक उपभोग्य वस्तुदेखि छाला तथा सेन्थेटीक जुत्ता, कपडा, औषधीको जीएसटी थप घटाउने घोषणा गरेको छ ।
भारतीय बजेटले छिमेकी मुलुक नेपालमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ। किनकि अधिकांस सामान भारतबाट आयात हुन्छ । त्यसमा पनि खुल्ला सीमा जोडिएको व्यापारिक सहरमा अझै धेरै प्रभाव पर्ने भन्दै उद्योगीहरुले नेपाल सरकारले त्यसका लागि नीतिगत सुधार गरिहाल्नुपर्ने सुझाव समेत दिएका छन् । उद्योग संगठन मोरङका पूर्व अध्यक्ष राकेश सुरानाले यति धेरै असजिलो स्थितिमा खुल्ला सीमानाकाबाट सामान भित्र्याउँदा त्यसको नियन्त्रणमा भन्दा सेटिङमा सुरक्षा निकाय सहयोगी बन्ने गरेको आरोप लगाए । उनले भने–किन नियन्त्रण गर्न चाँहदैन, राज्य नै लागेर गैरभन्सार कारोबारलाई प्रश्रय दिइरहेको छ ।

भारतले गत भदौमा नै वस्तु तथा सेवा कर (जीएसटी) को स्ल्याब परिवर्तन गरेको थियो । जसअनुसार नयाँ दरहरू सेप्टेम्बर २२ देखि लागू भएका थिए । भारतमा उत्पादन तथा बिक्री हुँदै आएको वस्तुमा ५ प्रतिशत, १२ प्रतिशत, १८ प्रतिशत र २८ प्रतिशतको दरमा जीएसटी लाग्दै आएको बेला यसको दर ५ प्रतिशत र १८ प्रतिशत कायम गरिएको थियो । केही विलासी र स्वास्थ्यका लागि हानिकारक, वस्तुमा मात्रै ४० प्रतिशतको स्ल्याब कायम गरिएको थियो । सेक्टेम्बरदेखि नै भारतले जीएसटी स्लाब घटाउने गरेको निर्णयले असर गरिरहेको थियो । त्यसबेला १२ प्रतिशत स्ल्याब भएका सबै वस्तुको दर ५ प्रतिशतमा झारेको थियो । त्यसअघि १८ प्रतिशत स्ल्याब रहेका वस्तुलाई १२ प्रतिशतमा झारेको थियो ।

यसैगरी अर्का उद्योगी पवन शारडाले अहिले नेपालका उद्योगको उत्पादनमा स्वभाविक मूल्य बढेको बताएका छन् । उनले वस्तु उत्पादन गर्ने कच्चा अन्तराष्ट्रिय बजारबाट आयात गर्नुपर्ने स्थितिमा अमेरिकी डलरको मूल्य बृद्धि हुँदा नेपालका उद्योगको लागत बढ्न गएको बताए । उद्योगको लागत बढ्दा त्यहाँबाट उत्पादन हुने वस्तुको मूल्य बढ्ने र त्यसको प्रभाव सेवाग्राहीसम्म पर्ने स्वभाविक स्थिति रहेको उनी बताउँछन् । तर, यता मूल्य बृद्धि हुने वस्तुहरु खुल्ला सीमानाकाबाट ह्वारह्वार्ती आयत हुने कुरालाई कसरी नियन्त्रण गर्ने र स्वदेशी वस्तुको उपयोग बढाउने भन्ने ध्यान नभएको उनी बताउँछन् ।

उद्योगी शारडाले नेपालमा गणतान्त्रिक सरकार श्री ५ सरकार जस्तो चलिरहेको आक्रोश पोखे । उनले अन्तरिम सरकारले केहि गर्न नसक्ने भनेर बस्दा समग्र अर्थतन्त्र थप धर्मराउन सक्नेतर्फ सचेत हुन पनि चेतावनी दिएका छन् ।

यसैगरी उद्योगी देवकीनन्दन अग्रवालले दुई महिना अगाडी भन्दा अहिले सनफ्लावर तथा तोरी तेलमा ३० रुपैँया प्रतिलिटरले मूल्य बृद्धि भएको जानकारी दिए । यताको तेलमा मूल्य बृद्धि हुँदा उपभोक्ताले भारतीय बजारबाट ल्याएर उपभोग बढाउने स्थिति रहेको छ । तर, अधिकांश उपभोक्ता भारतीय बजारमा नपुग्दा दैनिक क्यारिङ वा तस्करीमार्फत बजारमा भित्रने र पसलबाटै बिक्री हुने गरेको उनको दावी छ । भन्सार छलेर भित्र्याउने यस्ता वस्तु बजारमा छ्यापछ्याप्ती पाउनुले पनि सुरक्षा संयन्त्रको मिलेमतो खुल्ने उद्योगी अग्रवाल बताउँछन् ।

उद्योगीले यस्तो आरोप लगाई रहँदा मोरङका प्रहरी उपरीक्षक कबित कटुवाल भने भन्सारमा संकलन भएको राजस्वको ग्राफले समेत तस्करी नियन्त्रणमा रहेको पुष्टि हुने बताउँछन् । उनले अहिले त्यस्तो स्थिति नरहेको प्रहरी उपरीक्षक कटुवालको भनाई छ । तर, सीमाबाट अवैध कारोबारमा कहिं न कहिं सशस्त्र प्रहरी र नेपाल प्रहरीले सेटिङको काम गरिरहेको आरोप उद्योगीले गर्दै आएका छन् । कतिपय व्यापारीले अहिले भन्सार क्षेत्रबाट समेत भित्रने सामानमा त्यहि भित्र सेटिङ भइरहेको समेत दावी गरेका छन् । निर्वाचनको मुखमा अन्तरिम सरकारले यसको लेखाजोखा खासै नराख्ने भएकोले संक्रमणकालको फाइदा लिने क्रम जारी रहेको आरोप लाग्ने गरेको हो ।

सशस्त्र प्रहरी बल नम्बर ३ गण टंकीसिनवारी मोरङका प्रहरी उपरीक्षक गेहेन्द्र भण्डारीले सीमा नै भद्रगोल भएको स्थितिमा पूर्ण नियन्त्रण हुन नसक्ने भएपनि जतिसक्यो मेहनत गर्ने बताएका छन् । उनले संलग्नतामै चोरी निकासी र पैठारी हुन्छ भन्ने आरोप निराधार रहेको बताउँदै कहिंकतै संलग्नता पुष्टि भएमा कारवाही हुने दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्