विराटनगर विश्व क्यान्सर दिवसको अवसरमा बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको प्राबिधिक सहयोग तथा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रहरी कर्मचारीहरुलाई लक्षित गरी १ दिने क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।


कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर र कोशी प्रदेश प्रहरी गण विराटनगरमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निःशुल्क स्वास्थ्य परीक्षण गरिएको थियो । भने बिराट क्यान्सर इन्स्टिच्युटकी वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. अस्मिता रायमाझीले क्यान्सरका लक्षण, जोखिम कारक, प्रारम्भिक पहिचान तथा समयमै उपचारको महत्त्व, उपचार पद्धति तथा सचेतना सम्बन्धि प्रशिक्षण प्रदान गर्नु भएको थियो ।
उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटगरका प्रहरी उपरीक्षक सुमन कुमार तिम्सिनाले प्रहरी कर्मचारीहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनु हुने चिकित्सक टोली तथा विराट मेडिकल कलेजलाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गर्नु भएको थियो । स्वास्थ्य शिविर तथा प्रशिक्षण कार्यक्रममा प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीया, सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।