मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपूर्जा
विराटनगर । निर्वाचन नजिकिँदै जाँदा मोरङका सर्वसाधारण मतदाताहरू मतदानका लागि क्रमशः सक्रिय हुँदै गएका छन्। निर्वाचन आयोगले मतदाता तथा उम्मेदवार दुवैका लागि आचारसंहिता सहित विभिन्न नियमहरू लागू गरेको छ।
निर्वाचन आयोग कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरका कार्यालय प्रमुख चोलाराज दंगालका अनुसार मतदाता नामावलीमा नाम दर्ता भएका व्यक्तिले मतदान गर्न जाँदा सामान्यतया मतदाता परिचयपत्र साथमा लैजानुपर्ने हुन्छ। मतदाता परिचयपत्र नभएको अवस्थामा नेपाल सरकारले मान्यता दिएको कुनै एक सक्कल कागजात—नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपूर्जा—साथमा लिएर गएमा मतदान गर्न पाइने उनले जानकारी दिए।
उनका अनुसार मतदान स्थलमा मोबाइल फोन, क्यामरा तथा कुनै पनि प्रज्वलनशील पदार्थ लैजान निषेध गरिएको छ। अनुमति बिना तस्बिर खिच्न नपाइने र रक्सी वा कुनै पनि लागू पदार्थ सेवन गरेर मतदान स्थलमा प्रवेश गर्न कडाइका साथ निषेध गरिएको उनले बताए।
त्यसैगरी कसैको पक्ष वा विपक्षमा झुट्टा अफवाह वा भ्रम फैलाउने कार्य गर्न नहुने, सामाजिक सञ्जालमा जथाभाबी सामग्री पोस्ट गर्नु कानुन विपरीत रहेको दंगलले स्पष्ट पारे। कुनै पनि व्यक्तिलाई दबाब दिएर मतदान गराउन नपाइने उनको भनाइ छ। मतदान भइरहेको स्थल वा आसपासमा कुनै पनि राजनीतिक दलको चिन्ह भएको झोला, टोपी, टी–सर्ट वा मास्क लगाएर जान नपाइने व्यवस्था गरिएको छ। शरीरमा राजनीतिक चिन्ह देखिने ट्याटु भए कपडाले छोपेर जानुपर्ने पनि उनले बताए।
निर्वाचन आयोगले लागू गरेको आचारसंहिता तथा नियम उल्लङ्घन गरेमा कानुनअनुसार सजाय र जरिवाना हुने चेतावनी दिँदै दंगलले मतदान गर्नका लागि मतदाता नामावलीमा नाम दर्ता भएको हुनु अनिवार्य रहेको बताए। आगामी फागुन २१ गते निर्वाचन हुँदैछ।