विराटनगर । निर्वाचन नजिकीएसँगै बजार निकै चलायमान हुन्छ । देशभरिका उम्मेदवारको खर्च अर्बौं रुपैयाँ हुन्छ । प्रचारप्रसारका लागि उम्मेदवारले कार्यकर्ता परिचालन, मतदाता रिझाउने, इन्धन, सवारीसधान, प्रचार सामग्री, कार्यालय सञ्चालनलगायतमा मोटो रकम खर्चिन्छन् ।
तर, यो रकम उम्मेदवारको आफ्नै आम्दानीबाट आर्जन भएको हुँदैन । चुनावी खर्चको मुख्य स्रोत उद्योगी व्यवसायी हुने गरेका छन् । यसरी उद्योगी–व्यवसायीलाई मुख्य स्रोत बनाउँदै फोन गर्ने उम्मेदवार र दलको निर्वाचन परिचालन संयन्त्रबाट उनीहरु भने हैरानमा परेको सुनाउँछन् ।
विराटनगरका उद्योगीहरुले समेत निर्वाचन नजिकिँदै गर्दा चन्दाको दबाब आउन थालेको गुनासो गरेका छन् । राजनीतिक दल र उम्मेदवार चुनाव खर्च जुटाउन व्यवसायीको मोवाइनमा फोन बजाउन व्यस्त रहेका हुन् । उद्योगीहरु भने रिङ्गटोन सुनेपछि नम्बर हेर्ने अनि घर्रामा मोवाइल हालेर हात बाँध्ने स्थितिमा रहेको गुनासो गर्दछन् ।
समय अगाडीको निर्वाचन देशका लागि ठूलो घाटा हो, संविधानसभा सदस्य तथा उद्योगी पवन शारडाले भने–त्यसैपनि खर्च बढ्छ, त्यहिंमाथि दवाव उतिकै । उनले अहिले उम्मेदवारहरुले फोन गरेर आर्थिक सहयोग मागिरहेको स्वीकार गरेका छन् । उनले धेरै चिनजान भएका उम्मेदवारले फोन गरेर सुभेक्षा व्यक्त गर्न भन्ने गरेको बताए । त्यस बाहेक चिन्दै नचिनेकाले समेत यो पार्टी, त्यो पार्टी भनेर फोन गर्ने गरेका हुन् ।
निर्वाचनले धेरै उद्योगीलाई आफ्नो सार्वजानिक भएको नम्बरवाला फोन घर्रामा राखेर अर्को आन्तरिक प्रयोजनको नम्बरबाट काम गर्नुपर्ने बनाएको छ । तर, पनि आफ्नो शुभेक्षा प्रकट गर्ने हैसियत हुँदा सहयोग गर्न बाँकी नराखेको उनीहरु बताउँछन् । अहिले भने असजिलोमा परिरहकोले सहयोग माग्न कष्ट नगरीदिए आभार व्यक्त गर्ने स्थितिमा रहेको कतिपय उद्योगीको भनाई छ ।