विराटनगर माघ २६ ,
उदयपुरको चौदण्डीगढी स्वास्थ्य चौकी हडियामा आयोजना गरिएको दुईदिने निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरको प्राविधिक सहयोगमा लायन्स/लियो क्लब अफ विराटनगर, ग्रीनसिटी लायन्स/लियो क्लब अफ विराटनगर युनिटीको संयुक्त आयोजनामा माघ २२ र २३ गते शिविर सञ्चालन गरिएको थियो।
शिविरमा जनरल मेडिसिन, प्रसूति तथा स्त्री रोग, हाडजोर्नी, बालरोग, शल्यक्रिया, नाक–कान–घाँटी, आँखा, छाला तथा दन्त रोगसम्बन्धी सेवा प्रदान गरिएको थियो। यसका साथै रेडियोलोजी (भिडियो एक्स–रे), मुटुरोग सेवा, मुटुको ईको, ल्याब तथा फार्मेसी सेवासमेत उपलब्ध गराइएको आयोजकले जनाएको छ।
स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागितासहित सम्पन्न शिविरबाट कुल २,३६३ जना सेवाग्राहीहरूले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा लिएका छन्। स्थानीय तहको सक्रिय समन्वय र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलको प्रभावकारी प्राविधिक सहयोगका कारण शिविर उद्देश्यअनुसार सफलतापूर्वक सम्पन्न भएको जनाइएको छ।